चितवन । चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा शनिबार राति जङ्गली हात्ती घरमै पसेर आक्रमण गर्दा एक आमा र उनका चार वर्षीय छोराको ज्यान गएको छ।
मृत्यु हुनेमा २५ वर्षीया आशिका बोटे र उनका छोरा भरत बोटे रहेका छन्। उनीहरू आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले कच्ची घर भत्काउँदै प्रवेश गरी आक्रमण गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार घटनाका बेला आशिकाका श्रीमान् पूर्ण बोटेले आगो बालेर हात्तीलाई भगाउने प्रयास गरेका थिए। हात्ती धपाउने क्रममा सल्किएको आगोले कच्ची घरमा समेत आगलागी भएको थियो।
घटनाको जानकारी पाएपछि स्थानीयवासी र प्रहरीको टोलीले संयुक्त रूपमा आगो नियन्त्रणमा लिएको थियो। तर, आक्रमणमा परेका आमा र छोरालाई भने बचाउन नसकिएको प्रहरीले जनाएको छ।
यस घटनापछि बेलहट्टा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ। रातिको समयमा जङ्गली हात्ती बस्तीमै प्रवेश गरी मानवीय क्षति पुर्याएको घटनापछि स्थानीयले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बस्ती सुरक्षा तथा हात्ती नियन्त्रणका प्रभावकारी उपाय तत्काल लागू गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।












