हेटौंडा/जनकपुरबाट हेटौंडातर्फ आउँदै गरेको ना.६ ख ७४५७ नम्बरको यात्रुबाहक बस हेटौंडा उपमहानगरपालिका–१५ मा दुर्घटनामा परेको छ।

बसमा ठूलो संख्यामा यात्रु, महिला तथा बालबालिका सवार रहेका थिए। दुर्घटनापछि केही समय घटनास्थलमा त्रासको वातावरण सिर्जना भएको थियो। विशेषगरी बालबालिकाको रुवाबासीले घटनास्थल भावुक बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

दुर्घटनाका कारण बसमा सामान्य क्षति पुगेको भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। केही यात्रु सामान्य रूपमा आत्तिएका भए पनि सबैलाई सुरक्षित रूपमा बसबाट बाहिर निकालिएको थियो।

दुर्घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ। घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीले उद्धार र यात्रुको व्यवस्थापनमा सहयोग गरेका थिए।