चितवन । चितवनको रत्ननगर नगरपालिका–१२, जिरौनाका कृषक ठाकुर सापकोटाले कृषिक्षेत्रमा एउटा नयाँ र उदाहरणीय आयाम थपेका छन् । विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका उनले केराको विविधीकरण गर्दै यसबाट मदिराजन्य पेयपदार्थ वाइन र ब्राण्डीको सफल उत्पादन परीक्षण गरेका हुन् ।

उत्पादनमुखी कृषिप्रणालीलाई उद्योगसँग जोड्ने उद्धेश्यसाथ उनले विगत एक वर्षदेखि केराका बाइप्रोडक्ट (सहउत्पादन) का लागि अध्ययन तथा प्रयोगात्मक अनुसन्धान सुरु गरेका थिए । सापकोटाले ए एण्ड बी केरा फार्ममार्फत् करिब १२ बिघा क्षेत्रफलमा व्यावसायिकरुपमा केराखेती गर्दै आएका छन् । हावाहुरी, बजार अभाव तथा अन्य प्राविधिक कारण बोटमै कुहिने र खेर जाने केरालाई कच्चापदार्थका रुपमा उपयोग गर्ने सोचसाथ उनले परीक्षण थालेका हुन् ।

कृषि विकास कार्यालय भरतपुरको प्राविधिक उपकरण, सहयोग र प्रोत्साहनमा सञ्चालन गरिएको अनुसन्धानबाट केराको वाइन उत्पादन पूर्णरुपमा सफल भइसकेको छ भने ब्राण्डी उत्पादनसम्बन्धि अनुसन्धान पनि अन्तिम सफल चरणमा पुगेको छ । यस प्रविधि पूर्णरुपमा पाकेको केरामा हुने प्राकृतिक चिनीको फर्मेन्टेसन (मदिराकरण) प्रक्रियामा आधारित छ । हालको परीक्षणअनुसार एक पटकमा ५ सय केजी पाकेको केरा प्रशोधन गर्दा करिब २ सय लिटर वाइन उत्पादन गर्न सकिन्छ । ३ सय केजी केराबाट करिब १ सय ३० लिटरसम्म ब्राण्डी तयार हुने गरेको छ ।

सापकोटाले यस व्यवसायलाई ठूलो डिस्टिलरीका रुपमा नभइ स्थानीयस्तरमै सञ्चालन हुने माइक्रो–डिस्टिलरी (लघु मदिरा उद्योग) का रुपमा दर्ता गर्ने प्रक्रिया अगाडि बढाएका छन् । गण्डकी गाउँपालिका तथा खोटाङका स्थानीय तहहरुले कोदोको घरेलु मदिरालाई ब्राण्डिङ गरेजस्तै चितवनको केरालाई पनि स्थानीय कानुन तथा कार्यविधिमार्फत् ब्राण्डिङ गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन् । केराको ब्राण्डिङ गर्न सकिए यसले कृषि पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने र चितवन आउने आन्तरिक तथा वाह्य पर्यटकका लागि यो एक उत्कृष्ट स्थानीय कोसेली बन्नसक्ने सापकोटाको विश्वास छ ।

हाल परीक्षणका रुपमा करिब एक हजार जनालाई यस पेयपदार्थ चखाइसकिएको र त्यहाँबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले आगामी आर्थिक वर्षदेखि व्यावसायिक उत्पादन र बजार विस्तार गर्ने तयारी भइरहेको छ । हाल परीक्षण चरणमा उनको परिवारका सदस्यसहित उद्योग र बजार व्यवस्थापनमा प्रत्यक्षरुपमा ९ जना संलग्न छन् । केराको सदुपयोग र यसका बहुउपयोगी परिकारको प्रवद्र्धन गर्ने उद्धेश्यले रत्ननगरको टाँडी बजारस्थित बकुलहर चोकमा छुट्टै आउटलेटसमेत सञ्चालनमा ल्याइएको छ । उक्त आउटलेटमा केराको मम, चिप्स, पकौडा, छोइला, बनाना चिल्ली तथा अचारलगायत विभिन्न नौला परिकार उपलब्ध गराइएको छ, जसले स्थानीय उपभोक्ता तथा पर्यटकलाई आकर्षित गरिरहेको छ ।

लामो समय केराखेती गर्दा बजारीकरण र प्राकृतिक विपत्तिका कारण बारीमै केरा पाकेर खेर जाने समस्या भोगेपछि यस अवधारणा जन्मिएको बताउँदै सापकोटाले केरालाई विविधीकरण गरी चितवनको छुट्टै पहिचानका रुपमा स्थापित गर्ने र स्थानीय कृषि अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्य राखेका छन् ।