हेटौंडा । मकवानपुर क्रिकेट संघको आयोजनामा भएको मकवानपुर जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले जितेको छ । गौरीटार रंगशालास्थित क्रिकेट मैदानमा भएको फाइनल खेलमा आधुनिकले शानदार जित दर्ता गर्दै उपाधि उचाल्न सफल भएको हो ।
सेमिफाइनलमा आधुनिकले जीएस निकेतनलाई र सिद्धार्थ शिशु सदनले नवोदय शिशु सदनलाई पराजित गरेर फाइनलयात्रा तय गरेका थिए । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको निरज श्रेष्ठ स्मृति अन्तरविद्यालय टी–२० प्रतियोगिताका लागि जिल्ला छनौटका रुपमा प्रतियोगिता आयोजना गरिएको थियो । मकवानपुर क्रिकेट संघका अनुसार प्रतियोगिताका विजेता टोली आधुनिक माविले अब जिल्लाको प्रतिनिधित्व गर्दै प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुनेछ । प्रदेशस्तरीय प्रतियोगिताका लागि छनौट भएको टोलीले अन्य विद्यालयका ४ जना खेलाडीलाई आफ्नो टोलीमा समावेश गर्नुपर्नेछ ।
प्रतियोगिता टी–२० भए पनि फाइनल खेल भने सुपरओभरको भएको हो । प्रतियोगिताको उपाधिका लागि आधुनिक मावि र सिद्धार्थ शिशु सदनले प्रतिस्पर्धा गरेका थिए । टस हारेर पहिले ब्याटिङ गरेको आधुनिकले ५ बलमा २ विकेट गुमाएर १० रन बनाएको थियो । सुपरओभरमा ११ रनको लक्ष्य पाएको सिद्धार्थ शिशु सदन ९ रनले पराजित भयो । सिद्धार्थ ५ बलमा १ रनमा अलआउट भयो अर्थात् १ रन बनाउँदा सिद्धार्थ शिशु सदनले आफ्नो दुवै विकेट गुमायो । प्रतियोगिता विजेता टोली आधुनिक र उपविजेता सिद्धार्थले ट्रफी, मेडेल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
विधागत् उत्कृष्ट खेलाडीहरुका लागि पनि प्रतियोगितामा ट्रफीको व्यवस्था गरिएको थियो । विधागत्तर्फ सिद्धार्थ शिशु सदनका नमन भट्टराई प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, आधुनिक माविका आदर्श यादब उत्कृष्ट व्याटर र नवोदय शिशु सदनका सुप्रिम गौतम उत्कृष्ट बलर घोषित भए । प्रतियोगितामा आधुनिक राष्ट्रिय मावि, भुटनदेवी मावि, सिद्धार्थ शिशु सदन, सोलिड्यारिटी इन्टरनेसनल एकेडेमी, नवोदय शिशु सदन, जीएस निकेतन र हेटौंडा एकेडेमीको सहभागिता थियो ।
प्रदेशस्तरीय प्रतियोगितामा क्यानबाट आधिकारिकता पाएका बागमती प्रदेशका ६ जिल्ला मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर, ललितपुर र नुवाकोटले प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि प्रदेशस्तरीय प्रतियोगिताको विजेता टोली राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछ । क्यानले पहिलो पटक निरज श्रेष्ठ स्मृति अन्तरविद्यालय टी–२० प्रतियोगिता आयोजना गर्दैछ ।













