हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाका किसानले चालु आर्थिक वर्ष २०८२/०८३ को ११ महिनामा दूध बिक्रीबाट २८ करोड ९७ लाख एक हजार ९ सय ९७ रुपियाँ आम्दानी गरेका छन् । पालिकाका अनुसार असारदेखि जेठ मसान्तसम्म ४० लाख ४४ हजार ४ सय ९६ लिटर दूध बिक्री हुँदा उक्त रकम गाउँ भित्रिएको हो । दूधको भुक्तानी नियमित हुन थालेपछि पशुपालनतर्फ किसानको आकर्षण बढ्दै गएको पालिकाले जनाएको छ ।

पालिकाका अनुसार साउनमा तीन लाख ४२ हजार ६ सय ६ लिटर, भदौमा तीन लाख ३२ हजार १ सय ६३ लिटर, असोजमा तीन लाख ३६ हजार १ सय ८९ लिटर, कात्तिकमा तीन लाख ३४ हजार ४ सय ९५ लिटर, मंसिरमा तीन लाख ५१ हजार ३ सय लिटर, पुसमा तीन लाख ८८ हजार ८ सय २४ लिटर, माघमा तीन लाख ६९ हजार ८ सय २९ लिटर, फागुनमा चार लाख एक हजार ७ सय ४९ लिटर, चैतमा तीन लाख ८९ हजार ३ सय ३० लिटर, बैशाखमा तीन लाख ९२ हजार ३ सय ३० लिटर र जेठमा चार लाख पाँच हजार ६ सय ८९ लिटर दूध बिक्री भएको छ ।

मनहरीले गत वर्ष कात्तिकदेखि किसानले उत्पादन गरेको दूधको बिक्री तथा भुक्तानीको जिम्मेवारी लिएको हो । यसअघि किसानले जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरमार्फत् दूध बिक्री गर्दै आएका थिए । जिल्ला संघबाट भुक्तानी ढिलो हुने गुनासो बढेपछि पालिकाले हेटौंडा—१९, नेवारपानीस्थित हेटौंडा डेरी इन्डस्ट्रिज प्रालिसँग सम्झौता गरी किसानको दूध बिक्री तथा भुक्तानीको व्यवस्था मिलाएको थियो ।

पालिकाका नौवटै वडाबाट छवटा दुग्ध सहकारीमार्फत् दूध संकलन हुँदै आएको छ । ती सहकारीमा एक हजार ४ सय बढी दुग्ध उत्पादक किसान आबद्ध छन् । आर्थिक वर्ष २०८०÷०८१ मा वार्षिक २१ लाख ६५ हजार ६ सय ७ लिटर दूध उत्पादन भएकोमा पालिकाले भुक्तानी सुनिश्चितता गरेपछि दैनिक दूध संकलन चार हजार ६ सय लिटरबाट बढेर करिब १४ हजार लिटर पुगेको छ ।

पालिका अध्यक्ष रञ्जन कालाखेतीले किसानले उत्पादन गरेको दूधको भुक्तानी समयमै हुने व्यवस्था भएपछि दूध उत्पादन र पशुपालन दुवैमा उल्लेखनीय वृद्धि भएको बताए । उनका अनुसार समयमै भुक्तानी हुने व्यवस्थाले किसानको विश्वास बढेको छ । पशुपक्षी विकास शाखाका पशुविकास अधिकृत प्रदीप बर्तौलाले पालिकाले उत्पादनका आधारमा प्रतिलिटर तीन रुपियाँ अनुदान दिँदै आएको जानकारी दिए । चालु आर्थिक वर्षमा दूध उत्पादन अनुदानबापत् ९५ लाख वितरण गरिसकिएको उनले बताए । उनका अनुसार संघीय सरकारको ८० प्रतिशत् र किसानको २० प्रतिशत् लगानीमा पशु विमा कार्यक्रमसमेत सञ्चालन भइरहेकाले आगामी वर्ष दूध उत्पादन अझ वृद्धि हुने अपेक्षा गरिएको छ ।