हेटौंडा । क्यानडामा बसोबास गर्दै आउनुभएका चितवन निवासी रामनाथ सुबेदी र उहाँकी पत्नी मालती सुबेदीले मकवानपुरगढी गाउँपालिका—३ का असहाय तथा विपन्न नागरिकका लागि ५० हजार आर्थिक सहयोग गर्नुभएको छ । उक्त रकम समाजसेवी भीमकुमारी न्यौपानेमार्फत बाबुआमा गुमाएका बालबालिका, अपांगता भएका व्यक्ति, एकल महिला तथा आर्थिकरुपमा कमजोर परिवारका सदस्यलाई वितरण गरिएको हो ।
सहयोग प्राप्त गर्नेमा अपांगता भएका १६ वर्षीय हर्षित तिमल्सिना, बाबु गुमाएका सूर्य थोकर, बाबुआमा दुवै गुमाएका १५ वर्षीय अनिल गोले, १२ वर्षीय प्रज्ज्वल बिश्वकर्मा, शारीरिकरुपमा अशक्त ६८ वर्षीय देवीप्रसाद चौलागाईं र ६७ वर्षीया एकल महिला इन्दिरा मगर हुनुहुन्छ । विदेशमा रहे पनि दुःखमा परेका नागरिकलाई साथ दिने उद्धेश्यले सुबेदी दम्पतीले सहयोग रकम पठाएको र त्यसलाई आवश्यकता तथा अवस्था हेरेर वितरण गरिएको समाजसेवी न्यौपानेले बताउनुभयो
।













