काठमाडौं । अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपोसार विरुद्ध दिवसको अवसरमा नेपाली कांग्रेसद्वारा आयोजित ‘द ग्रिन टेबल’ कार्यक्रममा सिआन पुनर्स्थापना केन्द्रका निर्देशक शौजन डिसीले नेपालमा लागुऔषधको वर्तमान अवस्था, त्यसका सामाजिक असर तथा समाधानका उपायबारे राष्ट्रिय स्तरको प्रस्तुति दिएका छन्।
नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय, सानेपामा आयोजित कार्यक्रममा निर्देशक डिसीले लागुऔषध दुरुपयोगका कारण युवा पुस्ता, परिवार र समाजमा परेको प्रभावबारे तथ्यसहित जानकारी गराउँदै रोकथाम, उपचार, पुनर्स्थापना र जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा लगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा अतिथिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रस्तुत सुझावहरूलाई नीति निर्माण तथा लागुऔषध नियन्त्रणसम्बन्धी राष्ट्रिय प्रयाससँग जोडेर अघि बढाउनुपर्ने विषयमा समेत छलफल भएको आयोजकले जनाएको छ।














