हेटौंडा । विश्व लागुऔषध दुव्र्यसन तथा अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा बागमती प्रदेशदेखि कोशी प्रदेशसम्म सञ्चालन गरिएको लागुऔषधविरुद्ध सचेतना यात्रामा १ सय २० राइडर सहभागी भएका छन् । काठमाडौं, चितवन, पोखरा, बाराको सिमरालगायत विभिन्न स्थानबाट सहभागी भएका राइडरहरुलाई हेटौंडामा स्वागत तथा सम्मान गरिएको छ ।

‘लागुऔषधलाई होइन भनौं, जीवन रोजौं’ भन्ने मूल नारासहित सञ्चालन गरिएको चौथो जनचेतनामूलक मोटरसाइकल यात्राले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्नका साथै युवाहरुलाई सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने उद्धेश्य लिएको मकवानपुर रिकभरिङ समूहका प्रवन्ध निर्देशक सन्दीप शाक्यले जानकारी दिए । मकवानपुर रिकभरिङ समूह अध्यक्ष शिवनारायण श्रेष्ठको सभाध्यक्षतामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललितबहादुर घलान प्रमुख अतिथि थिए । कार्यक्रममा सहभागी राइडरहरुलाई सम्मान गर्दै वक्ताहरुले लागुऔषधविरुद्ध अभियानलाई समुदायस्तरसम्म प्रभावकारीरुपमा विस्तार गर्न यस्ता अभियानको महत्वपूर्ण भूमिका रहने बताएका थिए ।

कार्यक्रममा हेटौंडा—२ का अध्यक्ष विष्णुगोपाल महर्जन, वडा—१६ का अध्यक्ष रामकृष्ण कोइराला, गैसस महासंघ मकवानपुर अध्यक्ष रमिला सापकोटा, मकवानपुर रिकभरिङ समूह वरिष्ठ सल्लाहकार शर्मिला श्रेष्ठ, ब्लु डायमण्ड सोसाइटीका प्रतिनिधि किरण थापालगायतले राइडरहरुलाई स्वागत तथा सम्मान गर्दै सफल यात्राको शुभकामना व्यक्त गरेका थिए ।

मकवानपुर बहुमुखी क्याम्पसमा आयोजित सचेतनामूलक कार्यक्रममा रिकभरिङ नेपाल केन्द्रीय सचिव रविकृष्ण श्रेष्ठ, विद्यार्थी, शिक्षक तथा युवाको सहभागिता थियो । कार्यक्रममा लागुऔषधको दुष्प्रभाव, रोकथाम तथा पुनस्र्थापनाको महत्वबारे चर्चा गर्दै समाजका सबै पक्षको साझा प्रयासबाट मात्र लागुऔषधमुक्त समाज निर्माण सम्भव हुने धारणा व्यक्त गरिएको थियो ।

बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा पालिकामा पनि राइडर्स टोलीलाई स्वागत तथा सम्मान गरिएको थियो । स्थानीय सरकार, सामाजिक संघसंस्था र समुदायको सहभागितामा सम्पन्न कार्यक्रमको सहजीकरण मकवानपुर रिकभरिङ समूह सञ्चालक सन्दीप शाक्यले गरेका थिए । प्रवन्ध निर्देशक शाक्यका अनुसार सचेतना यात्राअन्तर्गत् बागमती प्रदेशदेखि कोशी प्रदेशको विराटनगरसम्म विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । यात्राको समापनपछि विराटनगरस्थित बालआश्रममा आश्रित बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।

कार्यक्रममा वक्ताहरुले लागुऔषधविरुद्ध अभियान सरकारी निकायको मात्र नभइ परिवार, विद्यालय, समुदाय, सामाजिक संस्था तथा सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै युवाहरुलाई शिक्षा, खेलकुद, सिपविकास र सामाजिक सेवामा जोड्न सकेमात्र स्वस्थ्य र लागुऔषधमुक्त समाज निर्माण सम्भव हुने बताएका थिए ।