हेटौंडा । हेटौंडा-९ स्थित सिआन पुनस्र्थापना केन्द्र लागुऔषध दुव्र्यसनबाट प्रभावित व्यक्तिहरुको पुनस्र्थापनामा पु¥याएको योगदानका लागि देशकै उत्कृष्ट संस्थाका रुपमा सम्मानित भएको छ । अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध दिवसको अवसरमा शुक्रबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा केन्द्रलाई कार्यसम्पादन उत्कृष्टता पुरस्कार प्रदान गरिएको हो ।
समारोहमा गृहसचिव राजकुमार श्रेष्ठले सिआन पुनस्र्थापना केन्द्रको कार्यको उच्च मूल्यांकन गर्दै सम्मानपत्र हस्तान्तरण गरेका थिए । संस्थाको सामाजिक योगदानलाई थप प्रोत्साहनस्वरुप गृह मन्त्रालयले १ लाख नगद अनुदानसमेत प्रदान गरेको छ । संस्थाका तर्फबाट विभागीय प्रमुख उत्सव अर्यालले सम्मानपत्र र अनुदान ग्रहण गरेका थिए । वर्षौंदेखि लागुऔषध दुव्र्यसनमा परेकाहरुलाई नयाँ जीवन दिन निरन्तर सक्रिय सिआन पुनस्र्थापना केन्द्रले पुनस्र्थापना, परामर्श र सामाजिक पुनःएकीकरणका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ ।











