चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनले चितवनको स्थानीय अर्थतन्त्रमा उल्लेखनीय सकारात्मक प्रभाव पारेको छ । झण्डै एक सातासम्म चलेको महाधिवेशनका कारण चितवन तथा आसपासका क्षेत्रमा ५० करोडभन्दा बढीको आर्थिक कारोबार भएको अनुमान गरिएको छ ।
आइतबारदेखि सुरु भएको महाधिवेशन शुक्रबार पदाधिकारी निर्वाचनसँगै समापन भएको छ । देशभरबाट आएका प्रतिनिधि, पर्यवेक्षक, शुभेच्छुक तथा समर्थकहरुको उपस्थितिले भरतपुरसहित सौराहा, गैंडाकोटलगायत क्षेत्रका होटल, रेष्टुराँ, यातायात र अन्य व्यवसाय चलायमान बनेका हुन् । आवास तथा खाना व्यवस्थापन उपसमिति संयोजक राजन गौतमका अनुसार महाधिवेशन अवधिभर करिब ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । उनका अनुसार आवासमा झण्डै २० करोड खर्च भएको छ भने उद्घाटनका दिन र त्यसको भोलिपल्ट एकै दिन करिब २० हजार जना चितवनमा बसेका थिए ।
गौतमले प्रतिनिधिहरुले आफ्नै खर्चमा आवासको व्यवस्था गरेका र पार्टीले चार दिनसम्म भोजनको व्यवस्था मिलाएको जानकारी दिए । पार्टीको तर्फबाट मात्र खाना व्यवस्थापनमा चार करोडभन्दा बढी खर्च भएको उनको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार महाधिवेशनका क्रममा बाहिरी जिल्लाबाट करिब दुई हजार २ सय साना तथा ठूला सवारीसाधन चितवन प्रवेश गरेका थिए ।
उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले महाधिवेशनले होटल तथा रेष्टुराँ व्यवसायसँगै कृषि उत्पादनको खपतसमेत उल्लेख्यरुपमा बढाएको बताए । दूध, मासु, माछा, अण्डा, फलफूललगायत स्थानीय उत्पादनको माग बढ्दा समग्र आर्थिक गतिविधि चलायमान भएको उनको भनाइ छ ।
क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओम पाण्डेका अनुसार भरतपरका होटलहरुले सबभन्दा बढी लाभ उठाएका छन् भने त्यसपछि सौराहा र आसपास पर्यटकीय क्षेत्रका होटलहरुमा पनि राम्रो व्यापार भएको छ । उनले पहिलो पटक चितवन आएका रास्वपाका नेता तथा कार्यकर्ताले जिल्लाका पर्यटकीय गन्तव्यहरुको अवलोकन गर्ने अवसरसमेत पाएको बताए । महाधिवेशनले राजनीतिक गतिविधिसँगै चितवनको पर्यटन, होटल व्यवसाय, यातायात, कृषि तथा स्थानीय व्यापारमा समेत उल्लेखनीय आर्थिक चलायमानता ल्याएको व्यवसायीहरुको निष्कर्ष छ ।











