मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडामा घर फोडी चोरी गरेको आरोपमा एक युवकलाई चोरीका सामानसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असार १० गते दिउँसो हेटौँडा –७ क्याम्पडाँडा नजिक सनगुड कोलोनी निवासी कृष्णप्रसाद गौतमको घरमा कोही नभएको अवस्थामा चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

अनुसन्धानका क्रममा घरको पूर्वतर्फको ढोका फुटाई करिब १ तोला सुन, २५.५ तोला चाँदी (१५ वटा सिक्का) तथा नगद ४ लाख रुपैयाँ चोरी भएको खुलेको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले जिल्ला रामेछाप हिमागंगा गाउँपालिका–४ स्थायी घर भई हाल हेटौँडा–१५ फारलाइन बस्दै आएका अन्दाजी २५ वर्षीय मनोज पुलामी मगरलाई नियन्त्रणमा लिएको हो। उनको कोठामा खानतलासी गर्दा चाँदीका सिक्का, गरगहना, सुनका विभिन्न गरगहना तथा नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोधपुछका क्रममा उनी जेन्जी आन्दोलनका बेला भीमफेदी कारागारबाट फरार भएका व्यक्ति रहेको समेत खुलेको छ। पक्राउ परेका उनलाई बरामद सामानसहित आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच प्रहरीले सर्वसाधारणलाई घरमा धेरै नगद तथा गरगहना नराख्न, घर छोड्दा छिमेकी वा आफन्तको सहयोग लिन तथा सुरक्षा सुदृढ बनाउन सीसीटीभी जडान गर्न आग्रह गरेको छ।