हेटौंडा । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भयो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत २७ वर्षीय एक पुरुषको रेबिजका कारण मृत्यु भएको हो । मृतकलाई करिब एक महिनाअघि कुकुरले टोकेको भए पनि समयमै रेबिजविरुद्ध खोप नलगाइएका कारण संक्रमण गम्भीर बनेको चिकित्सकहरुले बताए ।
अस्पतालका अनुसार शिक्षणपेशामा आबद्ध ती पुरुषलाई कुकुरले टोकेपछि प्रारम्भिक उपचार गरिए पनि रेबिजविरुद्ध आवश्यक खोप नलगाइएकाले पछि संक्रमण फैलिएर स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएको चार दिनपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
बागमती प्रदेशका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रेबिजविरुद्ध खोप अभाव भएपछि उपचार सेवा प्रभावित बनेको हो । हेटौंडास्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमै खोपको मौज्दात सकिएपछि प्रदेशका अस्पताल र १३ जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रमा खोप उपलब्ध हुन सकेको छैन ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार पछिल्ला दुई÷तीन महिनादेखि रेबिज खोपको अभाव देखिएको हो । प्रदेशभरिका स्वास्थ्य संस्थाबाट निरन्तर माग आइरहे पनि केन्द्रमा स्टक नभएकाले वितरण गर्न नसकिएको हो । चालु आर्थिक वर्षमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट बागमती प्रदेशका लागि १५ हजार भाइल एन्टिरेबिज भ्याक्सिन प्राप्त भएको थियो । गत वर्ष मौज्दात रहेको करिब चारदेखि पाँच सय भाइल खोपसमेत थपेर माघसम्म वितरण गरिएको भए पनि त्यसयता नयाँ आपूर्ति हुन नसकेको केन्द्रले जनाएको छ । प्रदेशभर मासिक करिब १० हजार भाइल खोप आवश्यक पर्ने भए पनि मागअनुसार आपूर्ति हुन नसक्दा समस्या गम्भीर बन्दै गएको छ ।
खोप खरिद गर्ने अधिकार संघीय सरकारसँग मात्र भए पनि समयमै आपूर्ति गर्ने प्रयासरुवरुप अस्पतालहरुले आफ्नै स्रोतबाट वैकल्पिक उपाय खोजिरहेका छन् । खोप अभावबीच हेटौंडा अस्पतालले आफ्नै स्रोतबाट करिब १० लाख बराबर रेबिज खोप खरिद गरेर सेवा सञ्चालन गरेको थियो । अस्पतालका प्रवक्ता उत्सव चौलागाईंका अनुसार हाल पुनः करिब १० लाख बराबरका २ सय भाइल खोप खरिद प्रक्रिया अघि बढाइएको छ । उक्त खोप आइपुग्न केही दिन लाग्ने बताइएको छ ।
रेबिजविरुद्ध खोपको माग उच्च रहने भएकाले मौज्दात छिट्टै सकिने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । सरकारी स्वास्थ्य संस्थामा खोप नपाएपछि बिरामीहरु निजी अस्पताल तथा क्लिनिकमा जान बाध्य भएका छन् । निजी स्वास्थ्य संस्थामा एक पटक खोप लगाउँदा करिब ७ सयसम्म खर्च लाग्ने गरेको छ भने पूर्ण उपचारका लागि तीनदेखि पाँच डोजसम्म खोप लगाउनुपर्ने हुन्छ ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले रेबिज खोपको अभाव तत्काल अन्त्य गर्न प्रदेश सरकारले टेन्डर आह्वान गर्ने तयारी गरेको बताउनुभएको छ । उहाँले संघीय सरकारको आपूर्तिमा निर्भर रहँदा खोप अभावको अवस्था सिर्जना भएको दाबी गर्नुभयो ।
चिकित्सकहरुका अनुसार रेबिज विश्वकै सबभन्दा घातक संक्रामक रोगमध्ये एक हो । संक्रमित जनावरले टोकेपछि समयमै खोप नलगाइए रोग लागेपछि ज्यान बचाउने सम्भावना अत्यन्त न्यून हुन्छ । त्यसैले खोपको नियमित र पर्याप्त आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल पहल गर्नपर्ने आवश्यकता औंल्याइएको छ ।
रेबिज एक भाइरल रोग हो, जुन संक्रमित कुकुर, बिरालो, स्याल, बाँदरलगायत जनावरको टोकाइ वा ¥यालको सम्पर्कबाट मानिसमा सर्छ । स्वास्थ्यविज्ञहरुका अनुसार रेबिजको लक्षण देखिन थालेपछि उपचार प्रभावकारी नहुने भएकाले यसलाई लगभग शतप्रतिशत घातक रोग मानिन्छ । चिकित्सकका अनुसार रेबिज संक्रमण भएका व्यक्तिमा सुरुमा ज्वरो आउने, टोकेको ठाउँमा पोल्ने वा झम्झमाउने, त्यसपछि पानी र हावादेखि डराउने, उत्तेजित हुने तथा स्नायु प्रणालीमा असर पर्ने लक्षण देखिन्छन् । अन्ततः बिरामीको मृत्यु हुन सक्छ । नेपालमा हरेक वर्ष रेबिजका कारण दर्जनौं मानिसको मृत्यु हुने गरेको छ ।














