हेटौंडा । पहिला मनहरीमा नेपालकै उत्कृष्ट रक्सीभट्टी चलाइएको थियो भन्ने पत्याउन गाह्रो पर्ला । त्यो सरकारकै तजबिजमा थियो । अत्यन्त मगमग बास आउने मदिरा उत्पादन हुन्थ्यो ।

हो, कैलाश गाउँपालिका पूर्वअध्यक्ष टंक मुक्तानले फेसबुकमा यसलाई उल्लेख गरेका छन् । उनले भनेका छन्—विशेषगरि नेपालको तराई र भित्री मधेशका जंगलमा पाइने मौवा (महुवा) एक महत्वपूर्ण बहुउपयोगी वनस्पति हो । मौवाको फूल निकै गुलियो र पौष्टिक हुन्छ । तराईका आदिवासी तथा थारु समुदायका मानिसले झरेको फूल संकलन गरेर सुकाउने गर्दछन् । यसबाट हलुवा, पुरी, लड्डुलगायत मीठा परिकार बनाइन्छन् ।

उनले भनेका छन्—मौवाको सुकेको फूल कुहाएर र प्रशोधन गरेर स्थानीयस्तरमा शक्तिवद्र्धक मानिने मादकपदार्थ (रक्सी) महुली पनि भनिन्छ, बनाउने प्रचलन परापूर्वकालदेखि रहिआएको बताएका छन् । स्थानीय अग्रजहरुको भनाइअनुसार ५५÷६० वर्षअघि हालको मनहरी गाउँपालिका वडा—७ मनहरी बजारआसपास मौवाको सुकेको फूललाई प्रशोधन गरी मौवाको फूलको रक्सी बनाउने ठूलो मदभट्टी थियो ।

मुक्तानका अनुसार सरकारकै अनुमतिमा भारतीय ठेकेदारले मदभट्टी सञ्चालन गर्थे । हाल पनि मनहरी गाउँपालिका आसपास जंगलमा प्रशस्त मात्रामा मौवाको रुख पाइने भएकाले त्यहाँ मदभट्टी सञ्चालन गरेको भन्ने पुष्टि पनि हुन्छ । मौवाको फूल र दाना टिप्न रुख ढाल्ने गर्दा करिब १२÷१५ वर्षमै त्यस भेगका सबै मौवाका रुख समाप्त भएको भनिन्छ । बहुउपयोगी वनस्पति मौवाको उचित संरक्षणबिना विदेशी ठेकेदारलाई जंगल जिम्मा लगाउँदाको परिणाम मौवा लोप हुने अवस्थामा पुगेको मुक्तानले उल्लेख गरेका छन् ।