हेटौँडा । मकवानपुरमा उत्पादित ड्रागन फ्रुटको प्रवर्द्धन तथा नवनिर्मित प्रदेश कृषि थोक बजारको प्रचारप्रसार गर्ने उद्देश्यले हेटौँडामा पहिलोपटक तीन दिवसीय ड्रागन फ्रुट महोत्सव आयोजना गरिने भएको छ।
प्रदेश कृषि थोक बजार सञ्चालक समितिले आयोजना गर्न लागेको महोत्सव असार ११, १२ र १३ गते सञ्चालन हुनेछ। मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा समितिका कार्यकारी अधिकृत टिका प्रसाद काफ्ले ले महोत्सवबारे जानकारी दिँदै “उत्पादनदेखि उपभोक्तासम्म ताजा र गुणस्तरीय ड्रागन फ्रुट” भन्ने नारासहित कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।
महोत्सवमा ड्रागन फ्रुटको प्रदर्शनी तथा बिक्रीसँगै ताजा जुस, आइसक्रिम, सलाद, जामलगायत ड्रागनबाट तयार गरिएका विभिन्न परिकारको स्वाद लिन सकिने व्यवस्था मिलाइएको छ। साथै उन्नत जातका बिरुवा, आधुनिक खेती प्रविधि र प्राङ्गारिक मलसम्बन्धी प्रदर्शनी पनि राखिनेछ।
कार्यक्रममा उत्कृष्ट कृषि उपज प्रदर्शन गर्ने कृषकलाई सम्मान तथा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। करिब ३० वटा स्टल रहने महोत्सव गर्मी मौसमलाई ध्यानमा राख्दै बिहान ६ बजेदेखि ११ बजेसम्म तथा दिउँसो ३ बजेदेखि ७ बजेसम्म सञ्चालन गरिनेछ।
मकवानपुरमा पछिल्लो समय ड्रागन फ्रुट खेती विस्तार हुँदै गएको छ। जिल्लामा वार्षिक १० हजार केजीभन्दा बढी उत्पादन हुने गरेको र प्रतिकिलो ३५० देखि ४०० रुपैयाँसम्ममा बिक्री हुने गरेको बताइएको छ। यहाँ उत्पादन भएको ड्रागन फ्रुट हेटौँडासहित काठमाडौं र पोखरा लगायतका प्रमुख शहरमा समेत आपूर्ति हुँदै आएको छ।















