हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार रुपियाँको बजेट पारित भएको छ । थाहा नगरसभाको २१ औं अधिवेशनमा नगर उपप्रमुख भरत गोपालीले पेश गर्नुभएको आगामी वर्षको बजेट सभाले सर्वसम्मत पारित गरेको हो ।
पेश भएको बजेट तथा कार्यक्रमलाई नगर प्रमुख विष्णुबहादुर बिष्टले निर्णयार्थ पेश गर्नुभएको थियो । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सभामा कुल ९० करोड ९७ लाख ४४ हजार रुपियाँको विनियोजन पेश भएको थियो । जसमा संघीय सरकारबाट समानीकरण अनुदान १२ करोड ४३ लाख, समपुरक अनुदान १ करोड ३ लाख, सशर्त अनुदान ३१ करोड २८ लाख, राजस्व बाँडफाँट ११ करोड १० लाख ९१ हजार र दहत्तर बहत्तर १ करोड ५० लाख गरी ५५ करोड ८४ लाख ९१ हजार छ ।
प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान १ करोड १२ लाख १७ हजार, समपुरक अनुदान २ करोड ४० लाख, विशेष अनुदान ७० लाख, सशर्त अनुदान २ करोड ६६ लाख २२ हजार र राजस्व बाँडफाँट ५ करोड ७४ लाख १३ हजार ८ सय ९५ गरी १२ करोड ६२ लाख ५२ हजार ८ सय ९५ छ । बाँकी रकम नगरपालिकाको आन्तरिक राजस्व, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा अन्य स्रोतबाट व्यवस्थापन गरिने जनाइएको छ ।
नगरपालिकाले आन्तरिक आय वृद्धि, कर प्रशासन सुदृढीकरण तथा स्रोत व्यवस्थापनमार्फत् बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षको बजेटले कृषि उत्पादन वृद्धि, स्थानीय सडक तथा पूर्वाधार निर्माण, खानेपानी, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुदृढीकरण, युवा तथा खेलकुद विकास, महिला तथा सामाजिक समावेशीकरण, वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राखेको नगरपालिकाले जनाएको छ ।
सभाले आर्थिक विधयक, विनियोजन विधेयक र राजस्व विधेयक पनि सर्वसम्मत पास गरेको छ । नगरपालिकाको नगरसभामा प्रस्तुत गरिएको बजेटमा विकास निर्माण, पूर्वाधार विस्तार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्र्धन तथा जनसेवा प्रभावकारी बनाउने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।













