हेटौंडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत भलिबलतर्फ पुरुषमा मकवानपुर र महिलामा धादिङ च्याम्पियन बनेका छन् । काठमाडौंस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा मकवानपुरले चितवनलाई ३—२ सेटमा हराउँदै पुरुषतर्फ उपाधि जितेको हो ।

फाइनलमा मकवानपुरले प्रतिस्पर्धात्मक खेलमा चितवनलाई पराजित गरेको थियो । उपाधिसँगै मकवानपुरका खेलाडीले जनही ५ हजार रुपियाँ पुरस्कार प्राप्त गरे । उपविजेता चितवनका खेलाडीले जनही ४ हजार रुपियाँ पाए । तेस्रो स्थान हासिल गरेका भक्तपुर र धादिङका खेलाडीले जनही ३ हजार रुपियाँसहित प्रमाणपत्र प्राप्त गरे । पुरुष भलिबलमा मकवानपुरका निरोज मगर उत्कृष्ट लिबेरो, पुकार गुरुङ उत्कृष्ट लिफ्टर र कमलप्रसाद बिष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए । चितवनका रियोन कार्की उत्कृष्ट स्पाइकर र नवीन महतो उत्कृष्ट सर्भर तथा धादिङका प्रदीप गोल उत्कृष्ट मिडल ब्लकर चुनिए ।

महिलातर्फ धादिङले दोलखालाई ३—० को सोझो सेटमा हराउँदै उपाधि जित्यो । महिलातर्फ रामेछाप तेस्रो भयो । धादिङकी रमिला गुरुङ उत्कृष्ट स्पाइकर, भावना तामाङ उत्कृष्ट सेटर, जानुका गुरुङ उत्कृष्ट लिबेरो र बिमला लामा उत्कृष्ट प्रशिक्षक घोषित भए । रामेछापकी सपना श्रेष्ठ उत्कृष्ट मिडल ब्लकर बनिन् । टेबलटेनिस र बुद्धिचालमा ललितपुरले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको छ ।

टेबलटेनिसमा भक्तपुर दोस्रो र काठमाडौं तेस्रो भए । बुद्धिचालमा ललितपुरले ७ स्वर्ण जित्दै शीर्ष स्थान कब्जा ग¥यो । चितवन दोस्रो र काठमाडौं तेस्रो स्थानमा रहे । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिएको आयोजकले जनाएको छ ।