हेटौंडा । हेटौंडास्थित यातायात व्यवस्था कार्यालयमा विद्युत सर्ट भइ आगलागी हुँदा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धि सेवा प्रभावित भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयअन्तर्गत् यातायात व्यवस्था कार्यालय हेटौंडाले आइतबार सूचना जारी गर्दै कार्यालयको इन्टरनेट प्रणालीका डिभाइसहरुमा विहान ८ः४० बजे विद्युत सर्ट भइ अचानक आगलागी हुँदा क्षति पुगेको जनाएको छ ।

कार्यालयका अधिकृत टेकनाथ काफ्लेका अनुसार क्षतिको कारण नयाँ लाइसेन्स आवेदन, वर्ग थप (क्याटगोरी थप), बायोमेट्रिक तथा लाइसेन्स नवीकरणलगायत सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ । यद्यपि, प्रयोगात्मक (ट्रायल) परीक्षा भने पूर्वप्रकाशित कार्यतालिकाअनुसार नै सञ्चालन हुने कार्यालयले जनाएको छ । कार्यालयका शाखा अधिकृत काफ्लेद्वारा जारी सूचनामा सेवाग्राहीलाई पर्न गएको असुबिधाप्रति क्षमायाचना गरिएको छ । आगलागीबाट भएको क्षतिको मूल्यांकन तथा प्रणाली पुनर्संञ्चालनको तयारी भइरहेको कार्यालयले जनाएको छ ।