हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको आयोजना तथा डिभिजन वन कार्यालय मकवानपुरको सहयोगमा हेटौंडामा एकदिने सामुदायिक वन व्यवस्थापन सहजीकरण तथा समूह सशक्तीकरण कार्यक्रम भएको छ ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य भारती पाठकले सामुदायिक वन समूहहरुले वन व्यवस्थापन र आयआर्जनका गतिविधिमा ध्यान केन्द्रित गर्नपर्ने बताइन् । उनले वन क्षेत्रमा पर्यापर्यटन, जडीबुटी तथा फलफूल खेती विकास गरी समूहको कोषवृद्धि गर्नका साथै उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउनुपर्नेमा जोड दिइन् । कार्यालय व्यवस्थापन र लेखा प्रणालीलाई समयसापेक्ष बनाउँदै पारदर्शिता कायम गर्नेतर्फ पनि समूहले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा डिभिजन वन कार्यालय मकवानपुर प्रमुख राकेशप्रसाद चन्द्रवंशीले सामुदायिक वनको व्यवस्थापन, सदुपयोग, अग्निरेखा निर्माणलगायत कार्यमा वन कार्यालयले निरन्तर सहयोग गर्दै आएको बताए । उनले सामुदायिक वन समूहहरुले वन संरक्षणसँगै वातावरण संरक्षण, आयआर्जन तथा विपन्न वर्ग लक्षित कार्यक्रम सञ्चालन गर्नपर्ने आवश्यकता औंल्याए ।
डिभिजन वन कार्यालय मकवानपुरका वरिष्ठ वन अधिकृत बसन्तराज गौतमले सामुदायिक वन व्यवस्थापन तथा कानुनी÷नीतिगत् व्यवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य रामहरि चौलागाईंले समूहको क्षमता अभिवृद्धि, कार्यालय तथा लेखा व्यवस्थापनका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । महासंघ मकवानपुर कोषाध्यक्ष बलराम अधिकारीले बैठक सञ्चालन, साधारणसभा तथा वार्षिक कार्यक्रम तयारीसम्बन्धि विषयमा सहजीकरण गरेका थिए ।
सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर अध्यक्ष साधुराम चौलागाईंको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघ हेटौंडा अध्यक्ष शम्भुप्रसाद न्यौपाने, सबडिभिजन वन कार्यालय हर्नामाडीका वन अधिकृत प्रदीप अर्याल तथा सबडिभिजन वन कार्यालय हेटौंडाका रेञ्जर ईश्वरदत्त जोशीलगायतको आतिथ्यता थियो ।














