काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही जीवजन्तुमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना तत्कालका लागि बन्द गरिएको छ । चिडियाखाना व्यवस्थापनले शुक्रबार सूचना जारी गर्दै संक्रमणको जोखिमलाई ध्यानमा राखी अर्को सूचना जारी नभएसम्मका लागि चिडियाखाना बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

 जारी सूचनामा चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्डफ्लु देखिएकाले दर्शकहरुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै असार ५ गतेदेखि सेवा स्थगित गरिएको उल्लेख छ । व्यवस्थापनले संक्रमण नियन्त्रण तथा आवश्यक निगरानी कार्य सम्पन्न भएपछि मात्र चिडियाखाना पुनः सञ्चालनबारे निर्णय गरिने जनाएको छ । सर्वसाधारणलाई अर्को सूचना नआएसम्म चिडियाखाना भ्रमण नगर्न अनुरोध गरिएको छ।