हेटौंडा /नारायणी यातायत व्यवसायी कम्पनी प्रालिले सवारीधनी, चालक र सहचालकको हितमा हुने गरी विशेष राहत कोष सुरु गरेको छ । कार्यक्षेत्रमा खटिँदा सवारी दुर्घटनाका कारण ज्यान गुमाएका सवारीधनी, चालक र सहचालकको परिवारलाई राहत हुने गरी कम्पनीले ५ लाख रकम प्रदान गर्न सुरु गरेको हो । अब कम्पनीमा आवद्ध सवारीधनी, चालक र सहचालकको सवारी दुर्घटनामा ज्यान गुमे आश्रित परिवारले कम्पनीबाट ५ लाख रुपियाँ प्राप्त गर्नेछन् ।

उक्त राहत नेपाल सरकारले व्यवस्था गरेको मजदुर बीमाअन्तर्गत् प्राप्त हुने ५ लाखबाहेक रकम हो । ‘नियमअनुसार बीमाबाट पाउने ५ लाख छँदैछ । हामीले कम्पनीबाट छुट्टै थप राहत सुरु गरेका हौं,’ नारायणी यातायात कम्पनी प्रालि अध्यक्ष गोकर्णप्रसाद पराजुलीले भने—दुर्घटनामा कसैको ज्यान नजाओस् । यसरी राहत दिनुपर्ने परिस्थति नआओस् । यदि परिआए हामीले केही राहत दिउँ भनेर सुरु गरेका हौं ।

कम्पनीले कार्यविधि बनाएर राहत कोषको थालनी गरेको बताइएको छ । विशेष राहत कोषमा सहभागी गराउनका लागि कम्पनीले प्रतिसवारीधनीसँग वार्षिक १ हजार ५ सय लिने गरेको छ । सवारीधनी एक जनाले तिरेको वार्षिक १ हजार ५ सयबाट दुर्घटनामा ज्यान गुमेमा परिवारलाई राहत ५ लाख प्रदान गरिने पराजुलीले बताए ।

कार्यक्रमको पहिलो लाभ हेटांैडा—३ निवासी २४ वर्षीया शर्मिला न्यौपानेले प्राप्त गरेकी छन् । बिहीबार कम्पनी अध्यक्ष तथा सञ्चालकहरुले शर्मिलालाई रकम हस्तान्तरण गरेको सञ्चालक खेम काफ्लेले बताए । कम्पनीमा २ हजार ४ सय ७५ सवारीधनी आवद्ध छन् ।

१८ महिनाअघि विवाह गरेकी न्यौपानेको काँधमा पारिवारिक जिम्मेवारी थपिएको छ । काखमा ८ महिनाका छोरा र साथमा ७३ वर्षीया सासु रामकुमारी बर्तौला छन् । यी नाबालक र वृद्ध सासुको सहारा बन्नु परेको छ शर्मिलालाई । उनका ३० वर्षीय पति दलबहादुर बर्तौला सवारीचालक थिए । जेठ १६ गते कान्तिराजपथअन्तर्गत् बगुवा खोलानजिक दलबहादुरले चलाएको ट्रक दुर्घटना भयो । घटनास्थलमा उनको ज्यान गयो । हेटौंडाबाट ललितपुरमा निर्माणाधीन बागमती जलविद्युत् आयोजनाका सामग्री लिएर त्यसतर्फ गइरहेको ट्रक थियो । राति खोलामा डुबेको ट्रक केही घण्टापछि निकालिएको थियो । खोलामा डुबेको ट्रक यान्त्रिक सहायताबाट निकाल्दा चालकको शव चालक सिटमा भेटिएको थियो ।