हेटौंडा । हेटौंडा फुटबल एकेडेमी बारा जिल्लाको करैयामाई गाउँपालिकामा जारी तेस्रो संस्करणको करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ । बुधबार भएको खेलमा आयोजक नवजन प्रगति युवा क्लब करैयामाईलाई २—१ गोलले हराउँदै हेटौंडा फुटबल एकेडेमी सेमीफाइनल प्रवेश गरेको हो ।
पहिलो हाफको खेलमा १—० गोलअन्तरले पछि परेको हेटौंडा फुटबल एकेडेमीले उत्कृष्ट पुनरागमन गर्दै आयोजक करैयामाई गाउँपालिकालाई पराजित गरेको हो । आयोजकका तर्फबाट पहिलो हाफको ४ मिनेटमा गोल गर्दै सुधन चौधरीले सुरुवात अग्रता दिलाएका थिए । पहिलो हाफको खेलसम्म १—० गोलले पछि परेर दबाबमा रहेको हेटौंडा फुटबल एकेडेमीले भने सहज दोस्रो हाफमा पुनरागमन गरेको हो । दोस्रो हाफमा हेटौंडा फुटबल एकेडेमीका लागि शक्तिमान थिङले गोल गर्दै जित सुनिश्चित गरेका थिए । खेलको म्यान अफ दी म्याच थिङ घोषित भएका छन् । हेटौंडा फुटबल एकेडेमीले शुक्रबार फाइनल प्रवेशका लागि सेमीफाइनल चरणको खेलमा वकुलिया क्लबसँग प्रतिस्पर्धा गर्नपर्ने प्रशिक्षक भीम लामाले बताए ।
गाउँपालिकाको ग्रामीण स्थानमा जारी फुटबल प्रतियोगितामा खेलकुदको विकास गर्न, युवाहरुलाई फुटबलमा आकर्षितसँगै र एक अर्काबीच भ्रातृत्व कायम गर्न प्रतियोगिता आयोजना गरिएको बताइएको छ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता छ । प्रतियोगिताको उपाधि विजेता टिमले ७५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ३५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । फाइनल खेल असार ७ गते हुनेछ ।











