हेटौंडा । मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । स्थानीयस्तरमा फुटबल खेलको विकास तथा युवा खेलाडीहरुको प्रतिभा उजागर गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगिताको उद्घाटन थाहा नगरपालिका प्रमुख विष्णु बिष्टले गरेका हुन् ।

सात टोली सहभागी रहेको प्रतियोगिताको उद्घाटन खेलमा पाखुरे युवा क्लब थाहा—७ र थाहा नगरपालिका टोलीबीच प्रतिस्पर्धा भएको थियो । निकै रोमाञ्चक बनेको खेलमा दुवै टोलीले निर्धारित समयमा गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुंगिएको थियो । त्यसपछि नतिजाका लागि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा पाखुरे युवा क्लबले उत्कृष्ट प्रदर्शन गर्दै थाहा नगरपालिका टोलीलाई ५—४ गोलअन्तरले पराजित गरेको छ । निर्णायक क्षणमा उत्कृष्ट बचाऊ गर्दै टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका पाखुरे युवा क्लबका गोलकिपर सुजन तामाङ प्रतियोगिताको उद्घाटन खेलका म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिता असार ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताअन्तर्गत् बिहीबार विहान समूह ‘बी’ को पहिलो खेलमा सक्रिय युवा क्लब थाहा—४ र चित्लाङ एफसीबीच प्रतिस्पर्धा हुनेछ । आयोजक शिखर क्लबले भने प्रतियोगिताको पहिलो चरणमा बाइ पाएको छ ।

प्रतियोगिता विजेता टोलीले नगद दुई लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद एक लाख, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । व्यक्तिगत् पुरस्कारतर्फ प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई १२ हजार ५ सय प्रदान गरिनेछ । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर तथा सर्वाधिक गोलकर्ता (हाइस्कोरर) लाई जनही ६ हजार २ सय ५० रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । खेलाडीहरुको सुरक्षालाई प्राथमिकता दिँदै प्रतियोगितामा सहभागी सबै खेलाडीको बीमा व्यवस्था गरिएको आयोजकको भनाइ छ । यसले प्रतियोगितालाई अझ व्यवस्थित र सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।