हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले पछिल्लो पाँच वर्षमा २ सय ४८ किलोमिटर कंक्रिट (स्ल्याब ढलान) सडक निर्माण गरेको छ । आर्थिक वर्ष २०७७/०७८ देखि २०८१/०८२ सम्म उपमहानगरमा पछि समावेश भएका हटिया, हर्नामाडी, चुरियामाई, पदमपोखरी र बसामाडी क्षेत्रका बासिन्दालाई सडकसञ्जालसँग जोड्न उक्त सडक निर्माण गरिएको हो । सोही अवधिमा ७.९७ किलोमिटर सडक कालोपत्र, ५.८८ किलोमिटर सडक ट्रयाक खोल्ने, ११.१० किलोमिटर ग्राभेल तथा १३ वटा कलभर्ट निर्माण गरिएको छ ।
उपमहानगरपालिकामा समायोजन भएका साबिक गाउँविकास समितिमा रहेका कच्ची सडक स्तरोन्नति गर्दै कंक्रिट सडक निर्माणलाई प्राथमिकता दिइएको योजना कार्यान्वयन शाखाले जनाएको छ । शाखाका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा ४१.७१ किलोमिटर, २०७८÷०७९ मा ५२.७१ किलोमिटर, २०७९÷०८० मा ७३.१९ किलोमिटर, २०८०÷०८१ मा ५६.२८ किलोमिटर र २०८१÷०८२ मा २५ किलोमिटर सडक ढलान गरिएको छ । पाँच वर्ष अवधिमा विभिन्न सामाजिक तथा भौतिक पूर्वाधार निर्माणका कामसमेत सम्पन्न भएका छन् । उपमहानगरपालिकाका अनुसार ४४ वटा खानेपानी आयोजना, १ सय ४१ वटा शैक्षिक पूर्वाधार, ४८ वटा पर्यटन पूर्वाधार र २५ वटा स्वास्थ्य पूर्वाधार निर्माण गरिएको छ ।
७९ वटा गुम्बा, २ सय ७२ वटा मन्दिर, ६१ वटा तटबन्ध, १९ वटा सिचाईं आयोजना, ४५ वटा शौचालय र ६३ वटा सामुदायिक भवन निर्माण गरिएको छ । पानी निकास व्यवस्थापनका लागि ४५ वटा ढल तथा नाला निर्माण गरिएको योजना कार्यान्वयन शाखा प्रमुख किरण थापाले जानकारी दिए । नगर प्रमुख मीनाकुमारी लामाले उपमहानगरलाई व्यवस्थित, सुन्दर र सुदृढ बनाउन सडकसहित समग्र पूर्वाधार विकासका क्षेत्रमा काम भइरहेको बताइन् ।
उनका अनुसार स्वास्थ्य र शिक्षाका पूर्वाधार विस्तारलाई विशेष प्राथमिकता दिइएको छ । जनशक्ति पर्याप्त भए पनि पूर्वाधार अभावका कारण देखिएका समस्या समाधानका लागि नगरपालिका सक्रिय रहेको उनको भनाइ छ । उनले खानेपानी व्यवस्थापनका लागि उपमहानगरपालिकाले आफ्नै लगानी तथा सहलगानीमा विभिन्न आयोजना सञ्चालन गरिरहेको जानकारी दिइन् ।












