इलाम । भारत निर्यात हुँदै आएको नेपाली चिया निर्यातमा कडाइ भएपछि चिया पठाउन नसक्ने भन्दै इलामका ५३ चिया उद्योगले किसानबाट हरियो पत्ती खरिद गर्न छाडेका छन् ।
जेठ ३० गते सूचना निकालेर उद्योगले असार १ गतेबाट किसानको हरियो पत्ती नलिने जानकारी गएका थिए । यसअनुसार माईखोलावारिका सबै कारखाना बन्द भएका छन् भने माईपारि इलाम नगरपालिका, देउमाई नगरपालिकासहित १२ वटा उद्योग बन्द भएका छन् । मंगलबारदेखि माईपारिका थप १५ उद्योग बन्द भएको बताइएको छ । पछिल्लो समय भारतको टी बोर्डले भारत आयात हुने चियामा कडाइ गर्दै स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युअर लागु गर्दै प्रयोगशाला परीक्षण अनिवार्य गरेपछि भारत पुगेको नेपाली चिया पनि उतै रोकिएको व्यवसायीको भनाइ छ । भारतीय टी बोर्डले गएको मे १ देखि भारत आयात हुने चियामा कडाइ गरेको हो ।
जटिल गुणस्तर जाँचको बहानामा भारतीय बजारमा पुगेको दुई लाख किलोभन्दा बढी तयारी चिया भारतीय गोदाममै थन्किएको र नमुना परीक्षणका लागि लगिएको चियाको महिना दिनसम्म रिपोर्ट नदिएको उद्योगीको संस्था सूर्योदय टी प्रोड्युसर्स एसोसिएसन नेपालले जनाएको छ । उक्त नमुनाको रिपोर्ट गुणस्तरहीन देखिएमा उक्त चिया भारतीय गोदाममै नष्ट गर्नपर्ने जस्ता अव्यवहारिक नियम थपिएको एसोसिएसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि अन्तर्राष्ट्रिय संस्थाबाट प्रमाणीकरण भएर तेस्रो मुलुक निकासी भइरहेको चियामा भारतले दोष देखाएको उद्योगीको भनाइ छ । ‘हामीले पटकपटक सरकारलाई सहज निकासीको पहल गर्न आग्रह ग¥र्यौं । उद्योग बन्द हुने अवस्था आउँदासम्म सरकारले चासो गरेन । उद्योग बन्द गर्न हाम्रो बाध्यता हो,’ सूर्योदय टी प्रोड्युसर्स एसोसिएसन महासचिव गोपाल कट्टेलले भने—कम्तिमा पहिलाजस्तै गरी चिया जाने वातावरण बनाइदेऊ भन्दा पनि सरकारले नसुनी किसान, श्रमिक र उद्योग कसैका बारे चासो नराखेपछि उद्योग बन्द गर्ने निर्णयमा पुगिएको हो । किसान र श्रमिकलाई दिने पैसा नभएपछि हामी उद्योग बन्द गर्न बाध्य भयौं ।
कट्टेलका अनुसार उद्योगहरुले सोमबारदेखि किसानको हरियो पत्ती नलिने सूचना गरेर जेठ ३१ गतेकै चियाको काममात्र गरिएको जानकारी दिए । उनले सरकारलाई दबाबभन्दा पनि बाध्यताले उद्योगहरु पूर्णबन्द भएको जानकारी दिइ । इलामका चिया उद्योगमा हाल १० लाख किलोभन्दा बढी तयारी चिया गोदममा थन्किएको जनाइएको छ ।
वार्षिक दुई करोड किलो चिया उत्पादन हुने झापामा असार ४ गतेदेखि उद्योगले किसानबाट हरियो पत्ती लिएका छैनन् । नेपाल चिया उत्पादन संघ अध्यक्ष आदित्य पराजुलीले असार ४ गतेदेखि झापामा रहेका ३० चिया उद्योगले हरियो पत्ती नलिने निर्णय गरेको जानकारी दिए । ‘झापामा वार्षिक दुई करोड किलो चिया उत्पादन हुन्छ । त्यसमध्ये एक करोड किलो स्वदेशमै खपत हुन्छ । बाँकी एक करोड किलो चिया भारत नै जान्छ,’ अध्यक्ष पराजुलीले भने—हामीले सरकारको विरोध गरेर होइन, लाचार भएर उद्योग बन्द गर्ने भएका हौं । जसरी पहिला चिया भारत जान्थ्यो, त्यसरी नै अब पनि जानुपर्छ । सरकारले त्यसरी कुटनीतिक पहल गर्नपर्छ ।
पराजुलीले पहिला भारतले ५८ वटा अनुसूची राखेर नेपाली चियाजाँच गर्ने गरेकोमा यस पटकदेखि १ सय ६० वटा अनुुसूचीअन्तर्गत् जाँच गर्ने गरेको बताए । ‘कडाइ गरिँदै गएको जाँचलाई पुरानै ढंगमा झार्न र काकडभिट्टामै नमुना संकलन गर्ने गरी नेपाल सरकारले भारतसँग कुरा गर्नपर्छ । भारतीय गोदाममा पु¥याएर महिनौं नेपालीले चिया राख्नसक्ने अवस्था छैन,’ पराजुलीले भने—चियाको समस्यालाई सरकारले आफ्नो समस्याका रुपमा लिनुपर्छ । सरकारले नेपाली चिया निर्यातको विषयमा नसुनेको भने होइन । इलाम, झापा र अन्य क्षेत्रबाट समेत प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यले पटकपटक संसद्मा चिया समस्या, निर्यात र उद्योग बन्दका विषय उठाउने गरेका छन् । सरकारले भने चासो नदिएपछि चिया व्यवसायी सडकबाट थप आन्दोलन तयारी गर्ने चरणमा रहेको बताइएको छ ।














