उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै मन्त्री गौरी कुमारी काठमाडौँ, ३ असार : सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बुधबार बसेको प्रति

हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादबले लामो समयदेखि रुग्ण अवस्थामा रहेका हेटौंडा कपडा उद्योगलाई चालु आर्थिक वर्षभित्र पुनर्संञ्चालनमा ल्याइने दाबी गर्नुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री यादबले उद्योग सञ्चालनसँगै कपासखेती प्रवद्र्धनलाई पनि प्राथमिकतामा राखिने जानकारी दिनुभयो । उहाँले कपडा, धागो र कपास उत्पादनलाई एकीकृतरुपमा अघि बढाएर स्वदेशी उत्पादन तथा रोजगारी वृद्धि गर्ने सरकारको योजना रहेको उल्लेख गर्नुभयो । ‘रुग्ण उद्योगमध्ये हेटौंडा कपडा उद्योगलाई पहिलो चरणमा सञ्चालनमा ल्याइनेछ । कपडा र धागो उद्योगसँगै कपासखेतीको विकासलाई पनि समानान्तररुपमा अगाडि बढाइनेछ,’ उहाँले भन्नुभयो ।

बिगतमा सरकारहरुले हरेक बजेटमा हेटौंडा कपडा उद्योग पुनर्संञ्चालन ल्याइने बताउँदै आएको छ । उद्योग सार्वजनिक—निजी साझेदारीमा सञ्चालनमा ल्याइने बजेटमार्फत बताइने गरिएको हो । यसो भनिएको यो आठौं पटक भएको छ । आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा पनि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले नै यसबारे घोषणा गर्नुभयो । उद्योग पुनर्संञ्चालनमा ल्याउन तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीले नयाँ मेसिन ल्याएर उद्योग चलाउने दाबी बागमती प्रदेशसभा बैठकमा बताउन भ्याउनुभयो ।

चरम राजनीतिकरण र प्रशासनिक कमजोरीका कारण बन्द भएको उद्योग पुनर्संञ्चालन गर्ने भन्दै ७ उद्योग मन्त्रीले प्रयास गर्नुभएको छ । डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा त ९ करोड अनुदान नै दिइयो । उक्त रकम खोलामा पानी बगेसरह बग्यो । २०७० सालमा तत्कालीन माओवादीको हेटौंडा महाधिवेशनका क्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्योग जसरी पनि सञ्चालन गरिछाड्ने भाषण गर्दा मन्त्रिपरिषद्ले उद्योग खारेज गरेर भवन र भौतिक पूर्वाधारवापत रकम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा शेयरका रुपमा लगानी गर्ने निर्णय गरेको थियो ।

निरन्तर घाटामा गएर उद्योग चल्नै नसक्ने अवस्था आएपछि २०५७ माघ १८ गते मन्त्रिपरिषद् निर्णयले कामदार र कर्मचारीलाई सामूहिक अवकास दिइ उद्योग बन्दको घोषणा ग¥यो । सरकारले २०६९ माघ १२ मा उद्योग खारेज गर्दै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई मूल्यांकन स्वीकृत गर्दै लिलाम गर्ने अधिकार दियो । लिलाम गर्न दिइएको अधिकार सदुपयोग गर्दै कार्यालयले मेसिनको ८ करोड १४ लाख २७ हजार ६ सय ५० रुपियाँ र भवन तथा भौतिक पूर्वाधारको ८ करोड १२ लाख २५ हजार रुपियाँ मूल्यांकन गरेको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादबले केही दिनअघि हेटौंडा औद्योगिक क्षेत्रको निरीक्षण गर्दै उद्योग पुनर्संञ्चालनका लागि सरकार गम्भीर रहेको बताउनुभएको थियो । स्थलगत निरीक्षणपछि मन्त्री यादबले बन्द तथा रुग्ण उद्योग पुनर्जीवन गर्ने सरकारी योजनाअन्तर्गत हेटौंडा कपडा उद्योगलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभएको थियो । उद्योग सञ्चालनका लागि आवश्यक प्राविधिक अध्ययन, संरचना मर्मत तथा लगानीको मोडालिटीबारे मन्त्रालयले काम गरिरहेको उहाँको भनाइ छ । ‘उद्योग चल्ने अवस्थामै छैन,’ उद्योग संघ हेटौंडाका पूर्वअध्यक्ष ऋषिराम घिमिरे भन्नुहुन्छ ।

कपडा उत्पादनको क्षेत्रमा इतिहास बोकेको हेटौंडा कपडा उद्योग बन्द भएको २५ वर्ष भएको छ । सरकारले २०५७ माघ १८ गते उक्त उद्योग बन्द गर्ने निर्णय गरेको थियो । २०३५ माघ ५ बाट सञ्चालनमा आएको उक्त उद्योग लगभग २२ वर्ष सञ्चालनमा रहेर बन्द भएको थियो । तर, उद्योग सञ्चालनमा ल्याउन भने सहज देखिँदैन ।

हेटौंडा औद्योगिक क्षेत्रको १ सय ९२ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगका भवनहरु जीर्ण भइसकेका छन् । ती भवनमा उद्योग सञ्चालन गर्न सजिलो नहुने सरोकारवालाहरु बताउँछन् । हाल पनि उद्योगका केही भवनमा पानी जमेर आहाल बनेको छ । विद्युतीय प्रणाली ध्वस्त छ । मेसिनमा धागो कुहिएर बसेका छन् । मेसिनमा अड्किएका कपडाहरु त्यहीं सडेका छन् । बाहिरबाट हेर्दा उद्योग क्षेत्र खण्डहर देखिन्छ । भवन दिनानुदिन जीर्ण बन्दै गएको छ ।

२०३२ सालमा शिलान्यास भएको उद्योगमा चिनियाँ सरकारको सहयोग छ । २०३५ माघ ५ बाट सञ्चालनमा आएको उद्योग कुनै समय मकवानपुरको मात्र नभएर देशकै शान थियो । हेटौंडा औद्योगिक क्षेत्रको मात्र नभएर देशकै ठूलो उद्योगबाट उत्पादन भएका सुती धागो, कोरा, रंगीन, बुट्टेदार र सेतो कपडा खरिद गर्न व्यवसायी तथा आमउपभोक्तामा रुचि थियो ।

तर, २०५० तिर जब उद्योगमा राजनीतिले प्रवेश पायो, तब उद्योगको दुर्गति सुरु भयो । राजनीति र सरकारमा जाने दलले आफ्ना नेता तथा कार्यकर्ता भर्तिकेन्द्र बनाउँदा उद्योग २०५७ सालसम्म आइपुग्दा पूर्ण बन्द भयो ।

उद्योग बन्द भएसँगै सयौंको रोजगारी त खोसियो नै, सरकारले सबभन्दा धेरै नाफा गर्ने, नेपाली कपडालाई विश्वबजारमा ब्राण्डिङ गर्ने उद्योगको अस्तित्व माटोमा मिलायो । करिब १ हजार ५ सय व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको उद्योगमा राजनीति छिरेपछि उद्योग धरासयी भएको थियो । उद्योगका कक्ष र भवनहरु तथा मसिन रहेको क्षेत्र हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको जिम्मेवारीमा छ ।

शुरुमा केही समय नाफमा रहे पनि उद्योग बिस्तारै घाटामा जान थालेको थियो । लगातार घाटामै गएपछि मन्त्रिपरिषद्ले बन्द गर्ने निर्णय गरेको थियो । त्यति बेला वार्षिक दुई हजार तीन सय मेट्रिक टन धागो, दुई करोड ५० लाख मिटर कपडा उत्पादन हुन्थ्यो । दिनमा करिब ६९ हजार मिटर कपडा उत्पादन गर्ने क्षमता रहेको व्यवस्थापन कार्यालयले जनाएको छ । उद्योगले सुती कपडामा मुलुकलाई आत्मनिर्भर बनाएको थियो । हाल पनि उद्योगमा ४ सय ८६ वटा कपडा बुन्ने तान र १४ हजार ६ सय ८८ वटा स्पिन्डल छन् ।

सरकारले उद्योग सञ्चालनमा ल्याउन उद्योगको भवनदेखि मेसिनहरु समेत फेर्नुपर्ने व्यवसायीहरु बताउँछन् । नयाँ प्रविधिका मेसिनहरु जडान गरेर उद्योगलाई नयाँ तरिकाले सञ्चालनमा ल्याउन सकिने भए पनि हालकै मेसिन र अवस्थामा भने उद्योग सञ्चालनमा ल्याउन असम्भव रहेको उद्योगी व्यवसायीहरुको भनाइ छ ।