काठमाडौं । भारतीय जल तथा मौसम विज्ञान विभागले दक्षिणी बंगालको खाडी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको संकेत गरेको छ । भारतले आफ्नो मौसम नक्सामा नेपालको पूर्वी तथा मध्य तराईसम्म मनसुनी प्रणाली विस्तार भएको देखाएको हो । तर, नेपालको जल तथा मौसम विज्ञान विभागले भने मनसुन नेपाल प्रवेश गरेको औपचारिक घोषणा गरिसकेको छैन ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार भारतको मौसम विभागले देखाएको संकेतले नेपालको पूर्वी भेगसम्म मौसमी प्रणाली विकास भइरहेको देखिए पनि मनसुन पूर्णरुपमा भित्रिएको निष्कर्ष निकाल्ने अवस्था अझै बनेको छैन । उनका अनुसार मनसुन प्रवेश यकिन गर्न वायुमण्डलमा जलवाष्पको मात्रा लगायत सूचकहरुको विस्तृत अध्ययन आवश्यक हुन्छ । ‘पूर्वी भूभागमा मनसुनी वायुको गतिविधि देखिन थालेको छ । तर, अझै परिपक्व भइसकेको छैन,’ उनले बताए । उनले यही साताभित्र नेपालमा मनसुन प्रवेशको औपचारिक घोषणा हुनसक्ने सम्भावना रहेको पनि उल्लेख गरे ।

हालको मौसम अवस्थाबारे जानकारी दिँदै उनले पूर्वी नेपालको मौसम प्रणालीमा मनसुनी प्रभाव देखिन थालेको बताए । कोशी प्रदेशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने लुक्ला विमानस्थल, नुम केन्द्र र सिन्धुलीको रानीचुरी क्षेत्रमा पनि हल्का वर्षामापन गरिएको छ । तर, उनले हालको वर्षा गतिविधिलाई मात्र आधार मानेर मनसुन भित्रिएको घोषणा गर्न नसकिने स्पष्ट पारे ।

नेपालमा सामान्यतया जुन १३ (जेठ ३०) तिर मनसुन प्रवेश गर्ने गरेको तथ्यांक छ । अघिल्लो वर्ष भने मनसुन सरदरभन्दा करिब १५ दिनअगाडि मे २९ मा नेपाल प्रवेश गरेको थियो । नेपालमा मनसुन औसत १ सय २० दिनसम्म रहने गर्छ । मौसमविद्हरुका अनुसार यस वर्ष पनि मनसन सरदर समय आसपास प्रवेश गर्ने सम्भावना उच्च छ ।