हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब १०:५० बजे माण्डु हाइड्रोपावरबाट ईपातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च २१४४ नम्बरको योद्धा पिकअप अनियन्त्रित भई सडकबाट झण्डै १०० फिट तल खोलामा खसेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान निवासी अन्दाजी ४०/४२ वर्षीय बोधराज बुढाथोकी र बाराको पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय इञ्जिनियर सूर्य यादवको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बुढाथोकी नेपाली सेनाका पूर्व हवल्दार रहेका थिए भने यादव फास्ट ट्र्याक आयोजनामा कार्यरत थिए।

दुर्घटनापछि नेपाल प्रहरी तथा काठमाडौँ–तराई द्रुतमार्ग सिस्नेरी बेस क्याम्पमा रहेको नेपाली सेनाको संयुक्त टोली घटनास्थल पुगेर दुवै जनाको उद्धार गरेको थियो। गम्भीर अवस्थामा हेटौंडा अस्पताल पुर्‍याइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

हाल दुवै मृतकको शव हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

यस घटनापछि प्रहरीले सवारी साधन चलाउँदा तीव्र गतिलाई नियन्त्रणमा राख्न, सडक तथा मौसमको अवस्थाप्रति सजग रहन र ट्राफिक नियमको पूर्ण पालना गर्न चालक तथा सर्वसाधारणलाई आग्रह गरेको छ। सुरक्षित यात्राका लागि नियमित सवारी परीक्षण र आवश्यक सावधानी अपनाउन समेत अनुरोध गरिएको छ।