हेटौंडा । प्रेस स्वतन्त्रता तथा नागरिकको सूचना पाउने अधिकारको संरक्षणको माग गर्दै पत्रकारहरूले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम आयोजना गरेका छन्।

सूचना तथा विज्ञापन वितरणमा विभेदपूर्ण नीति अपनाइएको आरोप लगाउँदै पत्रकारहरूले सञ्चार क्षेत्रमाथि बढ्दो दबाब र हस्तक्षेपप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। धर्नामा सहभागीहरूले प्रेसको संवैधानिक अधिकारमाथि कुनै पनि प्रकारको अंकुश स्वीकार्य नहुने स्पष्ट पारे।

पत्रकारहरूले सूचना प्रवाहमा अवरोध पुर्‍याउने निर्णय तथा व्यवस्थाहरू तत्काल सच्याउन सरकारसँग माग गरेका छन्। उनीहरूले आम नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्न राज्य जिम्मेवार बन्नुपर्ने धारणा राख्दै सूचना अधिकारको पूर्ण कार्यान्वयनमा जोड दिएका छन्।

साथै, सञ्चार क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती र सुधारका विषयमा अध्ययन तथा सुझाव दिन सर्वपक्षीय कार्यदल गठन गर्नुपर्ने माग पनि उनीहरूले अघि सारेका छन्। पत्रकारहरूको भनाइमा सञ्चार क्षेत्रलाई थप जिम्मेवार, स्वतन्त्र र व्यवस्थित बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधार समयमै अघि बढाउनुपर्छ।

  1. धर्ना कार्यक्रममार्फत पत्रकारहरूले लोकतान्त्रिक मूल्य–मान्यता, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।