हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिको आयोजनामा एक दिवसीय स्टार्टअप कर्जासम्बन्धी अभिमुखीकरण तथा अन्तक्र्रिया मंगलबार सम्पन्न भएको छ ।
मउविस सभापति सीतादेवी भेटवालको सभाध्यक्षतामा भएको कार्यक्रमका प्रमुख आतिथ्यता मउवा संघ अध्यक्ष प्रमोदसिंह रानाभाटले गरेका थिए भने कार्यक्रमका प्रशिक्षक सहजकर्ता संघका आईटी सल्लाहकार किशोर अर्याल रहे । कार्यक्रमका प्रमुख अतिथि तथा मउवा संघ अध्यक्ष रानाभाटले स्टार्टअप कर्जासम्बन्धी महिला उद्यमीका लागि प्रभावकारी कार्यक्रम रहेको, महिला उद्यमीहरुलाई सघाउन अन्य कार्यक्रमहरु पनि भविष्यमा आयोजना गरिने भन्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा भेटवालले महिला उद्यमशीलतालाई सघाउन कार्यक्रम राखिएको बताइन् । उनले कार्यक्रमलाई महत्वपूर्णरुपमा लिन सहभागिहरुलाई प्रेरित गरिन् । कार्यक्रम प्रशिक्षक अर्यालले त्रिपुरेश्वरस्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बिगत तीन वर्षदेखि वार्षिक तीन प्रतिशत् सहुलियत व्याजदरमा बिनाधितो पाँच वर्षमा फिर्ता गर्नुपर्ने गरी २५ लाखसम्म कर्जा वितरण गरिरहेको बताए । त्यसमा उत्पादनमूलक क्षेत्रले उक्त सहुलियत कर्जा प्राप्त गर्नसक्ने उनले बताए । उनले आवेदन पेश गर्ने अनलाइन विधिदेखि त्यसका लागि आवश्यक कागजातलगायत विषयहरु जानकारी गराए । कार्यक्रममा मउविस सचिव सुनीता श्रेष्ठहाडाले मन्तव्य राखेकी थिइन् ।










