हेटौंडा/ मकवानपुरको भीमफेदी गाउँपालिकाका भूपेन्द्र राना मगरले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी तथा संगठित सदस्यता परित्याग गरेका छन्।

बागमती प्रदेश कमिटी अध्यक्षलाई सम्बोधन गर्दै उनले २०७२ सालदेखि विद्यार्थी संगठनमार्फत पार्टीमा आबद्ध भई विभिन्न गतिविधि तथा अभियानमा सक्रिय सहभागिता जनाएको उल्लेख गरेका छन्। पार्टीमा रहँदा प्राप्त अनुभव, सहकार्य तथा सिकाइप्रति उनले आभार व्यक्त गरेका छन्।

राजीनामा पत्रमा राना मगरले वर्तमान परिस्थितिमा स्वतन्त्र नागरिकका रूपमा रहने निर्णय गरेको जनाउँदै पार्टी सदस्यता तथा संगठित सदस्यता परित्याग गरेको बताएका छन्। उनले पार्टीभित्र व्यक्तिपूजा, टिके प्रणाली, नातावाद, कृपावाद तथा फरियावाद जस्ता प्रवृत्ति रहेको आरोप लगाएका छन्।

उनले जेनी आन्दोलनपछि सामाजिक सञ्जाल फेसबुकमार्फत समेत आफू पार्टीमा आबद्ध नरहेको संकेत दिने अभिव्यक्ति सार्वजनिक गरेको उल्लेख गरेका छन्। साथै समाजको समृद्धि, सुशासन र विकासका लागि आगामी दिनमा पनि नागरिकको हैसियतबाट रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

राना मगरले पार्टीको आगामी सफलताको कामना गर्दै धन्यवाद ज्ञापन गरेका छन्। उनका अनुसार उक्त निर्णय जेठ २५ गतेदेखि लागू हुने गरी गरिएको हो।