हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगरका २७ ठाउँमा ‘हाइमास्ट लाइट’ जडान गरेको छ । रात्रिकालको यात्रालाई सहज बनाउन उपमहानगरले हेटौंडा—४ को हुप्रचौरका ४ स्थान, हेटौंडा—१ तरकारी बजारमा २ वटासहित २७ मुख्य चोकहरुमा हाइमास्ट लाइट जडान गरेको हो ।

उज्यालो उपमहानगर अभियानअनुसार नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा जडान भएको लाइटले रातमा हेटौंडाको मुख्य क्षेत्र झलमल देखिएको छ । लाइटका कारण जरुरी कामको सिलसिलामा रातको समयमा हिँड्डुल गर्न सहज भएको छ । उपमहानगरले हेटौंडा बसपार्क, टोनीहेगन पार्क, न्युरेनी जाने बाटो, बस्तीपुर चौक, हात्तीगौंडा चौक, पदमपोखरी चौक, बँदेलधाप चौक, मयुरधाप, गुम्बाचौक, मानवसेवा आश्रम चौक, हेटौंडा—८ को फायरलाइन म्याजिक पार्क, हेटौंडा—८ को कालिका टोल, हेटौंडा—१५ को प्रणामी चौक, चिसापानी चौक, हटिया चौक, फुर्केचौर चौक, चुच्चेखोला चौक, चौघडा चौक, क्याम्पडाँडा चौक र संगम चौकमा लाइट जडान भइसकेको जनाएको छ ।

जडान भएकामध्ये हुप्रचौरका २ वटा लाइटको सेन्सरमा समस्या आएकाले सञ्चालन हुन नसकेको बताइएको छ । उपमहानगरले हेटौंडा बजारका विभिन्न सडकमा पोलसहित लाइटिङ गरेर उज्यालो बनाएको छ ।