हेटौंडा/नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले निजी सञ्चारमाध्यममाथि विभेद हुने गरी लागु गरिएको विज्ञापनसम्बन्धी नीति तथा परिपत्र तत्काल फिर्ता लिन संघीय सरकारसँग माग गरेको छ ।

साना लगानीका सञ्चारमाध्यमलाई प्रवद्र्धन गर्दै मिडियालाई उद्योगका रुपमा विकास गर्न आवश्यक वातावरण निर्माण गर्न पनि सरकारसँग आग्रह गरिएको छ । सञ्चारकर्मीलाई योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा आबद्ध गरी पेशागत सुरक्षाको वातावरण बनाउन तीन वटै तहका सरकारलाई आग्रह गरिएको छ ।

हेटौंडामा सकिएको मिडिया सम्मेलन तथा पाँचौं साधारणसभा जारी गरिएको ‘हेटौंडा घोषणापत्र—२०८३’ मा पत्रकारिता क्षेत्रका समसामयिक चुनौती, प्रेस स्वतन्त्रता, सञ्चारमाध्यमको प्रवद्र्धन तथा सञ्चारकर्मीको पेशागत सुरक्षासम्बन्धी १२ बुँदे घोषणा सार्वजनिक गरिएको हो । घोषणापत्रमा संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, लोकतन्त्र, मानवअधिकार, पत्रकारको पेशागत हित तथा सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता व्यक्त गरिएको छ । सम्मेलनले पत्रकारलाई निर्वाधरुपमा सूचनामा पहुँच सुनिश्चित गर्न, समाचार लेखेकै आधारमा विद्युतीय कारोबार ऐनअन्तर्गत फौजदारी अभियोग लगाउने प्रवृत्ति अन्त्य गर्न तथा पत्रकारमाथि हुने धम्की, निगरानी र धरपकड रोक्न माग गरिएको छ ।

घोषणापत्रमा संघ, प्रदेश र स्थानीय सरकारबीच संविधानले स्पष्ट गरेको अधिकार क्षेत्रको सम्मान गर्न, प्रदेश तथा स्थानीय सरकारमाथि हुने हस्तक्षेप रोक्न तथा संविधानविपरीत परिपत्र जारी नगर्न संघीय सरकारसँग माग गरिएको छ । सञ्चार गृहहरुमा लंैगिक समानता, अल्पसंख्यक समुदाय तथा फरक क्षमता भएका व्यक्तिहरुको सहभागिता बढाउन आवश्यक नीतिनिर्माण र कार्यान्वयन गर्न पनि सम्मेलनले सरकारको ध्यानाकर्षण गराएको छ ।

विभिन्न जिल्लामा नेपाल पत्रकार महासंघका नाममा भोगाधिकार प्राप्त गरी निर्माण गरिएका भवनहरुको भोगाधिकार यथावत कायम राख्न तथा स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यममार्फत वितरण गर्न प्रदेशभरका स्थानीय तहलाई अनुरोध गरिएको छ । राजधानी जिल्ला मकवानपुरलाई पर्यटकीय नगरका रुपमा विकास गर्न, प्रदेश सरकार सञ्चालनका लागि आवश्यक स्थायी पूर्वाधार निर्माण गर्न तथा बन्द रहेको हेटौंडा कपडा उद्योग र समस्याग्रस्त हेटौंडा सिमेन्ट उद्योगलगायत प्रदेशभित्रका उद्योगधन्दा सञ्चालन गरी रोजगारी सिर्जना गर्न सरकारसँग माग गरिएको छ ।

घोषणापत्र निर्माण समिति संयोजक तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति सचिव श्याम खतिवडाले सम्मेलनमा उठेका विषयहरुलाई समेटेर घोषणापत्र तयार गरिएको जानकारी दिनुभयो । सम्मेलनमा सहभागी पत्रकारहरुले प्रेस स्वतन्त्रताको संरक्षण, सञ्चारमाध्यमको दिगोपना र पत्रकारको पेशागत सुरक्षाका लागि घोषणापत्र कार्यान्वयनमा जोड दिएका थिए ।

सम्मेलनबाट पारित घोषणापत्र नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति अध्यक्ष कृष्ण सारुमगरले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो । उक्त अवसरमा मिडिया सम्मेलनका क्रममा उठेका विभिन्न विषय, सञ्चार क्षेत्रका समस्या तथा पत्रकारका सरोकारका मुद्धाबारे मन्त्री अधिकारीलाई जानकारी गराइएको थियो ।