हेटौंडा/मकवानपुरको सहकारी क्षेत्रमा नयाँ अध्याय थपिएको छ। हेटौंडाका दुई स्थापित बचत तथा ऋण सहकारी संस्था एक आपसमा गाभिएर ‘सर्वोत्तम सुन्दर संचिती सहकारी संस्था’ नामक नयाँ संस्था गठन गरेका छन्।

हेटौँडा–८ मा रहेको सर्वोत्तम संचिती बचत तथा ऋण सहकारी संस्था र चौकीटोलस्थित सुन्दर बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच शनिबार सम्पन्न संयुक्त साधारणसभाले एकीकरणलाई औपचारिकता दिएको हो।

एकीकरण घोषणा कार्यक्रममा बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भइन्। उनले सहकारी अभियानले सामाजिक सद्भाव, आत्मनिर्भरता र सदस्यबीचको सहकार्यलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरिन्। साथै, नयाँ संस्थाको नाम ‘सर्वोत्तम सुन्दर संचिती’ आफ्नै सुझावमा तय गरिएको उल्लेख गर्दै नामले संस्थाको लक्ष्य र पहिचानलाई प्रतिबिम्बित गरेको बताइन्।

कार्यक्रममा दुवै संस्थाका नेतृत्वले संस्थागत उपलब्धि तथा भावी योजनाबारे जानकारी गराएका थिए। सर्वोत्तम संचितीका अध्यक्ष रामबहादुर बस्नेतले आर्थिक तथा खाद्य सुरक्षासँगै सुशासनलाई प्राथमिकतामा राखेर संस्थालाई अघि बढाइने बताए। सहकारीमार्फत उत्पादन, प्रवर्द्धन र बजारीकरणका क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्य रहेको उनको भनाइ थियो।

एकीकरणअघि सुन्दर सहकारीमा करिब ८ सय तथा सर्वोत्तम संचितीमा ३ हजार १ सयभन्दा बढी शेयर सदस्य आबद्ध रहेका थिए। दुवै संस्थाको एकीकरणसँगै सदस्य संख्या, पूँजी तथा सेवा विस्तारको दायरा अझ व्यापक बन्ने अपेक्षा गरिएको छ।

नयाँ संस्थाको अध्यक्षमा रामबहादुर बस्नेत चयन भएका छन्। उपाध्यक्षमा हरिमाया ढकाल, सचिवमा रामनाथ वगाले, कोषाध्यक्षमा रेनु गुरुङ तथा सहसचिवमा विश्वनाथ ढकाल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा ऋतु विष्ट, धनकुमारी राजथला, बुद्धिप्रसाद पौडेल र राजकुमार अधिकारी रहेका छन्। लेखा समिति संयोजकमा पशुपति रिजाल तथा सदस्यमा मोनिका खड्का र सम्झना कार्की चयन भएका छन्।

सहकारी क्षेत्रको सुदृढीकरण र सदस्यको आर्थिक उन्नतिका लागि एकीकरण महत्वपूर्ण कदम भएको सहभागीहरूले बताएका छन्।