हेटौँडा/नेपाल पत्रकार महासंघ बागमती प्रदेशको अधिवेशनको अवसरमा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याएका तीन जना पत्रकारलाई पुरस्कृत तथा तीन जना पत्रकार र एक जिल्ला शाखालाई सम्मान गरिएको छ।
शनिबार आयोजित विशेष समारोहमा पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पुरस्कार तथा सम्मान प्रदान गरिएको हो।
पुरस्कृत हुनेहरूमा ‘स्वर्गीय रविन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कार’बाट काभ्रेपलाञ्चोककी भगवती तिमल्सिना, ‘उत्कृष्ट महिला पत्रकार पुरस्कार’बाट चितवनकी प्रतिमा सिलवाल तथा ‘स्वर्गीय सुर्जबहादुर सारू मगर स्मृति पत्रकारिता पुरस्कार’बाट नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी पुरस्कृत भएका छन्। पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ रहेको छ।
त्यसैगरी, मकवानपुरका नवराज शर्मा, चितवनका दिपक आचार्य र अग्रज पत्रकारका रूपमा सिन्धुलीका शेषराज दाहाल सम्मानित भएका छन्। कार्यक्रममा नेपाल पत्रकार महासंघको धादिङ जिल्ला शाखालाई समेत सम्मान गरिएको थियो।
पुरस्कार तथा सम्मानका लागि नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरी हुमागाईंको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो। समितिको सिफारिसका आधारमा अधिवेशन समारोहबीच पुरस्कार तथा सम्मान प्रदान गरिएको महासंघले जनाएको छ।















