हेटौंडा/गायत्री चेतना केन्द्रले विश्व वातावरण दिवसको अवसर पारेर शुक्रबार हेटौंडा—११ स्थित शंकरज्योति माध्यमिक विद्यालयमा वृक्षरोपण गरेको छ । केन्द्रले गुल्मोहर, तेजपात र पारिजातलगायत करिब ३० वटा बिरुवा रोपेको हो । केन्द्र अध्यक्ष मधु जैनको नेतृत्वमा विद्यालय पुगेको विशेषतः महिला टोलीले वृक्षरोपण गरेको प्रधानाध्यापक महेशकुमार रिजालले बताए ।
टोलीमा मारवाडी महिला मञ्चकी अध्यक्ष नीलम जालान, सचिव सोना अग्रवाल, सहसचिव रमिला अग्रवाल, सल्लाहकारद्वय स्नेहा चचानी र प्रीति अग्रवाल, गायत्री चेतना केन्द्रका राजकुमारी गुप्ता, रञ्जु मलिक र बद्रीनाथ गुप्तालगायतको उपस्थिति थियो ।
गायत्री चेतना केन्द्र आध्यात्मिक, सामाजिक र सांस्कृतिक जागरणका लागि स्थापित एक केन्द्र हो । शान्तिकुञ्ज, हरिद्वारस्थित अखिल विश्व गायत्री परिवारअन्तर्गत् सञ्चालित यस्ता केन्द्रहरुले मानिसमा सकारात्मक सोच, नैतिक मूल्यमान्यता र व्यक्तित्व विकास गराउन मद्धत गर्छन् । यसका मुख्य विशेषतामा दैनिक उपासना, ध्यान र मन्त्रजप, हिन्दु परम्पराअनुसार विभिन्न संस्कारहरु जस्तैः नामाकरण, अन्नप्राशन, विद्यारम्भ, पुंसवन आदि विधिविधानपूर्वक सम्पन्न गराइन्छ । सांस्कृतिक तथा सामाजिक गतिविधिमा नैतिक शिक्षा, योगकक्षा र समाज निर्माणसम्बन्धि कार्यक्रमहरु सञ्चालन गरिन्छ । नेपाललगायत विश्वका विभिन्न स्थानमा यस्ता केन्द्रहरु छन् ।
उक्त अवसरमा उनीहरुले गायत्री मन्त्रबारे संक्षिप्त जानकारी गराए । उक्त मन्त्र एकमात्र यस्तो उपाय हो, जुन विश्वाससाथ जप गर्दा हर किसिमको समस्याबाट छुटकारा मिल्न सक्दछ । हिन्दुधर्मका प्रायः सबै मन्त्रहरु शक्तिशाली मानिन्छन् । तर, सबै मन्त्रमध्य गायत्री मन्त्रलाई वेदको सर्वश्रेष्ठ मन्त्रको रुपमा मानिँदै आएको छ । २४ शब्दबाट बनेको गायत्री मन्त्र चार वेदबाट आएको हो । जसले सीधै मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा प्रभाव पार्दछ ।
गायत्री मन्त्रको प्रभाव हुनका लागि गायत्री मन्त्र जप गर्नैपर्छ भन्ने छैन । यसलाई सुन्दामात्र पनि मन्त्रको असर मानिसको जीवनमा पर्ने जर्मनका वैज्ञानिकहरु बताउँदछन् । गायत्री मन्त्र भगवान् सूर्यको स्तुतिमा गाइने मन्त्र हो । गायत्री मन्त्रको पहिलो नौं शब्दमा प्रभुको गुणबारे ब्याख्या गरेको पाइन्छ । उनीहरुका अनुसार, गायत्री मन्त्रको अर्थ होः ॐ (प्रणव), भूर (मानिसलाई प्राण प्रदान गर्ने), भुवः (दुःखको नास गर्ने), स्वः (सुख प्रदान गर्ने), तत् (सूर्यजस्तै उज्ज्वल), वरेण्यम् (सबभन्दा उत्तम), भर्गो (कर्मको उद्धार गर्ने), देवस्य (प्रभु), धीमहि (आत्मचिंतन योग्य), धियो (बुद्धि), यो (जसले), नः (हामीलाई) र प्रचोदयात् (हामीलाई शक्ति दिने) हुन् ।
गायत्री साधनाद्वारा आत्माको शुद्ध स्वरुप प्रकट हुन्छ र अनेक ऋद्धि र सिद्धिहरु उपलब्ध हुन्छन् । गायत्री साधनामार्फत् साधकले सांसारिक सुख एवम् आत्मिक आनन्द प्राप्त गर्दछ । ‘गायत्री मन्त्रका अक्षर यस्तो विचित्र र रहस्यमय छ कि यसको उच्चारण मात्रले पनि जिब्रो, घाँटी एवम् तालुमा भएका नाडी र तन्तु अद्भुत क्रममा सञ्चालन हुन थाल्छन्,’ उनीहरु भन्छन् ।