हेटौंडा । ५४ औं विश्व वातावरण दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित कार्यक्रममा वातावरण संरक्षणका लागि व्यवहारिक परिवर्तन आवश्यक रहेकोमा जोड दिइएको छ । कार्यक्रममा मुख्यमन्त्री इन्द्र बानियाँले प्लाष्टिक, डिजेल र पेट्रोलको अनियन्त्रित प्रयोगले वातावरणमा गम्भीर असर पारिरहेको बताउँदै नागरिकस्तरमै सचेतना र अभ्यास परिवर्तन जरुरी रहेको उल्लेख गरे ।
मुख्यमन्त्री बानियाँका अनुसार वातावरण प्रदुषण बढेसँगै मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर देखिन थालेको छ । क्यान्सरलगायत विभिन्न रोगहरु बढ्दै गएको उल्लेख गर्दै उनले वातावरण बिग्रिँदा त्यसको असर अन्ततः हामीमै फर्किने सन्देश दिए । उनले वातावरण सुधारको सुरुवात व्यक्तिगत् व्यवहारबाट हुनुपर्नेमा जोड दिए । प्रदेश सरकारले वातावरणमैत्री विकासलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रममा नयाँ व्यवस्था समावेश गरेको पनि उनले जानकारी दिए । निर्माण संरचनामा काठको प्रयोगलाई प्राथमिकता दिने, फोहोर व्यवस्थापनमा स्रोतमै वर्गीकरण अनिवार्य गर्ने जस्ता कदम अघि सारिएको उनको भनाइ थियो । विद्युतीय सवारीसाधन र इन्डक्सन चुलोको प्रयोग बढाएर स्वदेशी ऊर्जाको अधिकतम् उपयोग गर्नपर्ने आवश्यकता औंल्याइयो ।
वन तथा वातावरणमन्त्री भरतबहादुर केसीले जलवायु परिवर्तनका कारण हिमाल पग्लिने, बाढीपहिरो र अन्य प्राकृतिक विपद् बढ्दै गएको उल्लेख गर्दै वातावरण संरक्षण घरबाट सुरु गर्नपर्ने बताए । उनले फोहोरलाई कुहिने, नकुहिने र जोखिमयुक्त गरी छुट्याउने अभ्यासलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा टोलविकास संस्थाहरुको भूमिकालाई पनि विशेषरुपमा उल्लेख गरिएको थियो । सरसफाइ, वृक्षरोपण र हरियाली प्रवद्र्धनमा उनीहरुको योगदानले हेटौंडालाई वातावरणमैत्री सहर बनाउने प्रयासलाई बल पुगेको बताइयो । कार्यक्रमका वक्ताहरुले वातावरण संरक्षणलाई केवल अभियानमात्र नभइ दैनिक जीवनशैली बनाउनुपर्ने निष्कर्ष निकालेका छन् ।
यस अवसरमा बोतलसँग बिरुवा साट्ने जस्ता जनसहभागितामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । विश्व वातावरण दिवस—२०८३ को अवसरमा हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा टोलविकास संस्था नगर समन्वय समिति हेटौंडाको आयोजनामा हेटौंडा उपमहानगरपालिका—१८ र वडा—६ मा प्लाष्टिकका बोतलसँग फलफूलका बिरुवा साट्ने कार्यक्रम भएको थियो । वातावरण संरक्षण र हरियाली प्रवद्र्धन गर्ने उद्धेश्यले सञ्चालन गरिएको कार्यक्रममा १० वटा प्लाष्टिकका बोतल बराबर एक वटा फलफूलको बिरुवा प्रदान गरिएको थियो । उक्त कार्यक्रममार्फत् दुई स्थानबाट ४ सय भन्दा बढी फलफूलका बिरुवा वितरण गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमअन्तर्गत् उन्नत जातका लिची, आँप, अम्बा, एभोकाडो र कागतीलगायत विभिन्न फलफूलका बिरुवा वितरण गरिएको थियो ।
कार्यक्रममा सहभागी स्थानीयले प्रयोग भइसकेका प्लाष्टिकका बोतल संकलन गरी ल्याएका थिए भने त्यसबापत् उन्नत जातका फलफूलका बिरुवा प्राप्त गरेका थिए । यस अभियानले प्लाष्टिकजन्य फोहोर व्यवस्थापनसँगै वृक्षरोपणलाई प्रोत्साहन गरेको आयोजकको भनाइ छ । टोलविकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुवप्रसाद अधिकारीले वातावरण संरक्षण, हरियाली विस्तार तथा घरघरमा फलफूल उत्पादनको संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । उनले स्वच्छ, हराभरा र वातावरणमैत्री नगर निर्माणका लागि नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरे ।
हेटौंडा उपमहानगरपालिका—१८ का अध्यक्ष अनिलकुमार बानियाँले यस्ता कार्यक्रमले वातावरण संरक्षणका साथै स्थानीयस्तरमा फलफूल उत्पादन वृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने बताए । उनले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिइने जानकारी दिए ।
कार्यक्रममा सहभागी स्थानीयले घरमा थन्किएका प्लाष्टिकका बोतलको सदुपयोग हुनुका साथै फलफूलका बिरुवा प्राप्त गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका थिए । उनीहरुले यस्ता अभियानले वातावरण संरक्षणप्रति नागरिकको चासो बढाउने र वृक्षरोपण अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।














