हेटौंडा/ हेटौंडा बसपार्कबाट भारतको देहरादुन लैजान लागिएका २१ जना बालकलाई प्रहरीले उद्धार गरेको छ। सिन्धुली, बारा, धादिङ र सर्लाही जिल्लाबाट ल्याइएका ती बालकहरूलाई बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले सिविन र माइती नेपालको समन्वयमा उद्धार गरेको हो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बालकहरूलाई अभिभावकको मञ्जुरीमै भारत पठाउन लागिएको खुलेको छ। उनीहरूलाई भारतको देहरादुनस्थित एक गुम्बामा अध्ययनका लागि लैजान लागेको बताउने एक बौद्ध धार्मिक गुरुसँग प्रहरीले सोधपुछ गरेको जनाएको छ।
आवश्यक अनुसन्धानका लागि बोलाएको बेला उपस्थित हुने सर्तमा ती गुरुलाई छाडिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
बालअधिकार तथा बाल संरक्षणसँग सम्बन्धित संवेदनशील विषय भएकाले सम्बन्धित निकायहरूले घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेका छन्।













