हेटौंडा । नेपालको ऐतिहासिकरुपमा मकवानपुरमा रहेर नेपाली सेनाको भावना जोडिएको पर्यटकीय क्षेत्र ढुंगेगढीमा सैनिक—नागरिक सम्बन्ध सुदृढ बनाउने उद्धेश्यले नेपाली सेनाले निर्माण गरेको ढुंगेधारा तथा ५ हजार लिटर क्षमताको पानीट्यांकी मकवानपुरगढी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

नेपाली सेनाका अनुसार निर्माण गरिएको ढुंगेधारा तथा पानीट्यांकीबाट ढुंगेगढी भ्रमणमा आउने पर्यटक, काली मन्दिरमा दर्शनका लागि पुग्ने श्रद्धालु भक्तजन तथा स्थानीयले स्वच्छ खानेपानी सुबिधा प्राप्त गर्नेछन् । यसले क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

ऐतिहासिक महत्व बोकेको ढुंगेगढी क्षेत्रको पूर्वाधार विकाससँगै स्थानीय आवश्यकता सम्बोधन हुने र नेपाली सेना तथा नागरिकबीच सम्बन्धलाई थप प्रगाढ बनाउन आयोजनाले महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

नेपाली सेनाद्वारा सञ्चालित आयोजनाअन्तर्गत गोरखबहादुर गणले मकवानपुरगढी गाउँपालिका—२, ढुंगेगढीमा निर्माण सम्पन्न गरेको उक्त संरचना मध्यपृतना मुख्यालयका पृतनापति उपरथी विष्णुकुमार खड्काले पालिकालाई औपचारिकरुपमा हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा पृतनापति उपरथी खड्काले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ढुंगेगढी क्षेत्रको संरक्षण, प्रवद्र्धन तथा स्थानीय समुदायको आवश्यकतालाई सम्बोधन गर्न नेपाली सेना सदैंव प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले यस्ता आयोजनाले स्थानीय र सेनाबीचको सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

हस्तान्तरण कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामास्यांतान, नम्बर ७ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विक्रम गुरुङ, वडा नम्बर—२ का अध्यक्ष बखानसिंह पाख्रिन, गोरखबहादुर गणका गणपति प्रमुख सेनानी रवीन्द्रकुमार श्रेष्ठ, ७ बाहिनी अड्डा प्रमुख सेनानी झलक लामा, सशस्त्र प्रहरी बल नम्बर १४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक नवीनकुमार खड्का, इलाका प्रहरी कार्यालय मकवानपुरगढीका प्रहरी निरीक्षक धर्मेशकुमार यादब, ढुंगेगढी टोलविकास समिति अध्यक्ष सुधारजित गोलेलगायत स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति थियो ।

मकवानपुरको ढुंगेगढी (मकवानपुरगढी) सेनवंशीय राजाहरुको पालामा निर्मित ऐतिहासिक तथा पुरातात्विक महत्वको गढी हो । यहाँको प्राकृतिक सुन्दरता र ऐतिहासिकताका कारण यो आन्तरिक तथा वाह्य पर्यटकका लागि एक प्रमुख गन्तव्य बनेको छ । सेनवंशका राजा तुला सेनको पालामा निर्माण गरिएको मानिने यस गढी आधुनिक नेपालको एकीकरण हुनुपूर्वको सामरिक तथा ऐतिहासिक विरासत हो । नेपाली सेनाले मिर कासिमका फौजलाई पराजित गरेको रणनीतिक स्थानका रुपमा पनि यसको छुट्टै गरिमा छ ।

मकवानपुर नै त्यो ठाउँ हो, जहाँ नेपाली सेनाले मिर कासिमका फौजबाट ५ सय भन्दा धेरै राइफल, दुई तोप हात पारेर ४ वटा गुल्म श्रीनाथ, कालीबक्स, बर्दबहादुर र सबुज गुल्म बनायो । केही समयपछि पुरानो गोरख गुल्मसमेत स्थापना गर्न सफल भयो । नेपाली सेनामा सेना व्यवस्थित यो नै पहिलो गरिएको अवसर थियो । नेपाली सेनाको इतिहासमा पहिलो पटक बनाइएका यी संगठन थिए । नेपाली सेनाले कुनै पनि विदेशी सेनासँग लडेको पनि पहिलो अवसर थियो ।

गढी क्षेत्रमा प्रसिद्ध गढीमाई मन्दिरको मूल मन्दिरसमेत रहेकाले यहाँ धार्मिक पर्यटकको घुइँचो लाग्ने गर्दछ । हेटौंडाबाट ढुंगेगढी (मकवानपुरगढी) पुग्न करिब २० किलोमिटर दुरी पार गर्नपर्छ । सडक मार्ग हुँदै हेटौंडा बजारबाट गाडी वा मोटरसाइकलमार्फत सजिलै पुग्न सकिन्छ ।