हेटौंडा/जिल्ला प्रहरी कार्यालय मकवानपुरले निर्माण तथा स्तरोन्नति कार्यका कारण केही सडकखण्डमा आवागमन प्रभावित हुने भएकाले यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
प्रहरीका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ स्थित महालक्ष्मी खोलामा पर्ने कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडकखण्ड अन्तर्गत करिब १०० मिटर सडक ढलान गर्ने कार्य जेठ १५ गतेदेखि सुरु भएको छ। निर्माण कार्य सम्पन्न नहुँदासम्म करिब एक महिनासम्म उक्त सडकमा यातायात प्रभावित हुने भएकाले कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।
यस्तै, थानकोट–चित्लाङ सडकखण्ड मा जेठ १७ गतेदेखि २९ गतेसम्म निर्माण तथा सुधार कार्य सञ्चालन भइरहेकाले पानीघट्टदेखि चित्लाङ बजारसम्मको सडक पूर्ण रूपमा बन्द रहने जनाइएको छ। सो अवधिमा यात्रु तथा सवारी चालकलाई भैंसे–पालुङ–नौबिसे हुँदै त्रिभुवन राजपथ प्रयोग गर्न प्रहरीले सुझाव दिएको छ।
प्रहरीले यात्रा अघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा वैकल्पिक मार्ग प्रयोग गरी सुरक्षित यात्रा सुनिश्चित गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।