हेटौंडा/मकवानपुर र ललितपुरको सीमानामा पर्ने बागमती खोलाको पुलबाट टेलर गाडी खस्दा चालक बेपत्ता भएका छन् भने सहचालक सकुशल उद्धार गरिएका छन्।
शनिबार साँझ मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवा स्थित कान्तिलोकपथ सडकखण्डमा भएको दुर्घटनामा हेटौंडाबाट बगुवातर्फ जाँदै गरेको ना ६ ख ४०४२ नम्बरको टेलर अनियन्त्रित भई पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार बागमती हाइड्रोपावरका लागि फलामे पाइप बोकेको उक्त टेलरमा पाइप बाँधिएको तार (टुचिन) अचानक चुडिँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
दुर्घटनामा टेलर चालक हेटौंडा उपमहानगरपालिका–३ निवासी करिब ३० वर्षीय दलबहादुर बर्तौला खोलामा बेपत्ता भएका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। सहचालक राक्सिराङ गाउँपालिका–९ निवासी १७ वर्षीय प्रशन्न प्रजा भने सकुशल उद्धार भएका छन्।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी नायब निरीक्षक प्रमोद साह तेलीको नेतृत्वमा ट्राफिकसहित ५ जनाको टोली घटनास्थल पुगेको थियो। साथै, नेपाली सेना अन्तर्गत फास्ट ट्र्याक सुरक्षा बेसबाट जमदार माधवप्रसाद घिमिरेको कमाण्डमा ७ सदस्यीय टोली पनि उद्धार तथा बेपत्ता चालकको खोजी कार्यमा परिचालित भएको छ।
प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा बेपत्ता चालकको खोजी कार्यलाई तीव्रता दिएका छन्।














