हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ भुटनदेवी मोडस्थित रोयल पार्टी प्यालेसमा आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

बिहीबार दिउँसो करिब १२ः२५ बजे शेरबहादुर पहरीले सञ्चालन गरेको पार्टी प्यालेसको सभा हलको स्टेजमा करेन्ट सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय सानोपोखरा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली खटिएको थियो। हेटौंडा उपमहानगरपालिकाको दमकल, प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो करिब १२ः४५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आगलागीबाट सभा हलको स्टेजमा रहेको जिप्सन, लाइट, इलेक्ट्रोनिक तार, जस्ता तथा स्टेन बोर्डलगायतका सामग्री जलेर नष्ट भएका छन्। घटनामा मानविय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।