हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा १ दिने न्यायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। न्यायिक समिति हेटौंडा–११ को आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम न्यायिक समिति हेटौंडा–११ की संयोजक शर्मिला अधिकारीको सभाध्यक्षता तथा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। स्थानीय तहमा रहेका न्यायिक समितिको कार्यक्षेत्रभित्र पर्ने विषयबारे आम नागरिकलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ।
स्थानीय तहमा हुने विभिन्न प्रकारका विवाद, हिंसा, अन्याय तथा सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै न्यायिक निरुपण प्रक्रियाबारे जानकारी गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको कानुन शाखा प्रमुख लक्ष्मण मैनाली तथा अधिवक्ता सुजन तिमल्सिनाले सहजीकरण गरेका थिए।
त्यसैगरी कार्यक्रममा वडासदस्यद्वय गोपिनी सापकोटा र गीता सुनार, सहायक वडा सचिव जीवन ढुङ्गेल, २३ वटै टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, विद्यालय, खानेपानी, वन, सहकारी संस्था, नेपाल रेडक्रस सोसाइटी, परिवार नियोजन संघ नेपाल, बाल क्लब, सिविन बाल हेल्पलाइन तथा बाल सञ्जालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
















