काठमाडौं/संसार तीव्रगतिमा प्रविधितर्फ अघि बढिरहेका बेला नेपाली मूलकी एक किशोरीले आफ्नो प्रतिभा, अथक् मेहनत र अदम्य आत्मविश्वासको बलमा विश्वमञ्चमै नेपालको नाम गर्वसाथ उच्चारण गराएकी छन् । अमेरिकामा जन्मिएकी दोस्रो पुस्ताकी नेपाली छात्रा एञ्जल भण्डारीले प्रतिष्ठित विश्व रोबोटिक्स प्रतियोगिता जित्दै विश्वविजेताको गौरव हासिल गरेकी हुन् ।
यो सफलता केवल एउटा प्रतियोगिताको जितमात्र होइन, प्रवासमा हुर्किएर पनि आफ्नो नेपाली पहिचान, संस्कार र सपनालाई साथमै बोकेर विश्वस्तरमा चम्कन सकिने सशक्त उदाहरणसमेत हो । एञ्जलको उपलब्धिले विश्वभर फैलिएका नेपाली समुदायको शिर गर्वले उ“चो बनाएको छ । अमेरिकाको नेब्रास्का राज्यस्थित ब्राउनेल टलबोट विद्यालयमा अध्ययनरत् एञ्जलले नेतृत्व गरेको टोलीले अप्रिल २२ देखि २५ सम्म सेन्ट लुइसमा सम्पन्न विश्वस्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक उपाधि जितेको हो ।
विश्वभरबाट ७ हजारभन्दा बढी टोली सहभागी भएको प्रतियोगितामध्ये ४० भन्दा बढी देशका करिब ९ सय उत्कृष्ट टोलीमात्र अन्तिम चरणका लागि छनौट भएका थिए । त्यही कठिन प्रतिस्पर्धाबीच एञ्जलको टोलीले अपराजित २३–० को अविश्वसनीय प्रदर्शन गर्दै विश्व कीर्तिमानसहित उपाधि उचाल्न सफल भयो । यस विजयको अर्को विशेषता के थियो भने टोलीका विद्यार्थीहरुले रोबोटको सम्पूर्ण रुपरेखा, निर्माण, कम्प्युटर प्रणालीमार्फत् सञ्चालन, परीक्षणदेखि सञ्चालनसम्मका सबै काम आफैं गरेका थिए ।
आधुनिक प्रविधिको जटिल संसारमा किशोर–किशोरीहरुले आफ्नै सिर्जनात्मक क्षमता र सामूहिक मेहनतले हासिल गरेको उपलब्धि विश्वभर चर्चाको विषय बनेको छ । छ सदस्यीय टोलीमा एञ्जलले संयोजक, रणनीतिकार तथा सञ्चालन नेतृत्वकर्ताको भूमिका निर्वाह गरेकी थिइन् । उनले प्राविधिक सदस्यहरुबीच समन्वय कायम गर्नुका साथै रणनीतिक योजना निर्माण, तथ्यांक विश्लेषण, इञ्जिनियरिङसम्बन्धि अभिलेख तयारी तथा निर्णायकसमक्ष प्रभावशाली प्रस्तुतिकरणको नेतृत्वसमेत गरेकी थिइन् ।
उनको आत्मविश्वास, नेतृत्व क्षमता र सूक्ष्म विश्लेषण गर्ने शैलीले टोलीलाई केवल विजयीमात्र बनाएन, विश्व रोबोटिक्स क्षेत्रमा उदाहरणीय टोलीका रुपमा स्थापित गरायो । एञ्जलको प्रतिभा रोबोटिक्समा मात्र सीमित छैन । उनी अन्तर्राष्ट्रिय व्यापार योजना प्रस्तुतिकरण प्रतियोगितामा पनि १० हजारभन्दा बढी प्रतिस्पर्धीबीच अन्तिम चरणसम्म पुग्न सफल भएकी छन् । विज्ञान र प्रविधिस“गै नेतृत्व तथा व्यावसायिक सोचमा समेत अब्बल देखिएकी एञ्जल अब न्युयोर्कस्थित फोर्डहम विश्वविद्यालयमा विश्वव्यापी व्यापार तथा वित्त विषय अध्ययन गर्ने तयारीमा छन् ।
एञ्जलको सफलतापछाडि उनको परिवारको संघर्ष, मेहनत र दुरदृष्टिको कथा पनि उत्तिकै प्रेरणादायी छ । संखुवासभाको चैनपुरबाट अमेरिका पुगेका उनका पिता ज्ञानेन्द्र भण्डारी अमेरिकास्थित नेपाली समुदायमा परिचित सामाजिक अभियन्ता हुन् । उनी नेब्रास्काको नेपाली समाजका संस्थापक तथा पूर्वअध्यक्षसमेत हुन् । प्रवासमा रहेका नेपालीहरुलाई एकताबद्ध बनाउन उनले लामो समयदेखि महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । नेपालमा कानुन विषयमा स्नातक तह पूरा गरेपछि उनी सन् १९९५ मा उच्चशिक्षाका लागि अमेरिका पुगेका थिए । अमेरिकामा उनले कम्प्युटर सञ्जाल इञ्जिनियरिङ विषयसमेत अध्ययन गरेका थिए ।
एञ्जलकी आमा स्मृति राना भण्डारीस“ग मिलेर उनले सन् २००४ देखि नेपाली तथा भारतीय परिकारसम्बन्धि रेष्टुरा“ सञ्चालन गर्दै आएका छन् । अमेरिकामा लोकप्रिय उक्त रेष्टुरा“मा विश्वप्रसिद्ध लगानीकर्ता वारेन बफेटलगायत चर्चित व्यक्तित्वहरु नियमित ग्राहकका रुपमा पुग्ने गरेका छन् । एञ्जल भण्डारीको सफलता केवल व्यक्तिगत् उपलब्धि होइन, संसारभर छरिएर रहेका नेपाली मूलका युवापुस्ताका लागि प्रेरणाको उज्यालो दीपसमेत बनेको छ । प्रवासको भूमिमा जन्मिएर पनि नेपाली पहिचानलाई हृदयमा बोकेकी एक छोरीले विश्वमञ्चमा नेपालको नाम सुनौलो अक्षरमा लेखिदिएकी छन् ।












