हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका—८, महादेवटारस्थित काठमाडौं—तराई—मधेश द्रुतमार्गअन्तर्गत सुरुङ निर्माणस्थलमा काम गर्ने क्रममा एक कामदारको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
सोमबार राति राति करिब ९ः४५ बजे सुरुङभित्र काम गरिरहेका बेला प्रयोग हुने रिपिट (फलामबाट बनेको उपकरण) खसेर लाग्दा बर्दिया घर भएका ३० वर्षीय रामगोपाल चौधरी गम्भीर घाइते भएका थिए । थाहा नगरपालिका—५, सानोपाखा बस्ने २२ वर्षीय सन्तोष बम्जनको दाहिने हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
दुवै घाइतेलाई उपचारका लागि हेटौंडाको चुरेहिल अस्पताल लगिएकोमा चौधरीको उपचारका क्रममा राति ११ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते बम्जनको सोही अस्पतालमा उपचार जारी छ । एक दोभासेको भनाइअनुसार चोट लागेको अवस्थामा दोभासे सिन्धुपाल्चोक जुगल गापा—३ बस्ने वर्ष ३० का बेनु परियारले उपचारका लागि सीएमसी चुरेहिल अस्पताल हेटौंडा ल्याएकोमा चौधरीको मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा एकिन बुझ्न प्रनानि प्रमोदप्रसाद साहतेलीको टोलीले समन्वय गर्दै गरेको र दोभासेलाई अनुसन्धानका लागि जिप्रका मकवानपुरमा ल्याइएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली अनुसन्धानका लागि घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त घटनास्थल इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब ११ किलोमिटर उत्तर क्षेत्रमा पर्छ । प्रहरीका अनुसार मृतकको शव हेटौंडा अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



















