मकवानपुर/जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यले मनहरी गाउँपालिका–२ का सूर्यबहादुर गोलेले ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन्।

आफ्नो जन्मदिनको अवसरमा गोलेले मनहरी–२ सर्शिधाप निवासी ज्येष्ठ नागरिक मानबहादुर रुम्बालाई दोसल्ला ओढाएर सम्मान गर्दै नगद ४ हजार रुपैयाँ प्रदान गरेका हुन्।

वि.सं. १९८४ सालमा जन्मिएका रुम्बा मनहरी गाउँपालिका–२ का ज्येष्ठ नागरिकमध्ये सबैभन्दा ज्येष्ठ रहेको बताइएको छ।

वि.सं. २०५४ साल भदौ २० गते जन्मिएका गोलेले यस वर्ष जन्मदिनमा गरिने खर्चलाई सामाजिक कार्यमा प्रयोग गर्ने सोच बनाएर रुम्बालाई सम्मान गरेका हुन्। ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्नुका साथै आफ्नो सानो प्रयासले समुदायका अन्य व्यक्तिलाई पनि सामाजिक सेवामा लाग्न प्रेरित गर्ने विश्वास उनको छ।

गोलेले जन्मदिनमा हुने अनावश्यक खर्चलाई सामाजिक कार्यमा लगाउन सके त्यसले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए। आफ्नो क्षमता सीमित भए पनि विपन्न तथा अभावमा रहेका परिवारलाई आवश्यकता अनुसार सहयोग गर्न अरूलाई समेत प्रेरणा मिलोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको उनको भनाइ छ।

जन्मदिन व्यक्तिगत खुसी मनाउने अवसर भए पनि त्यसलाई सामाजिक उत्तरदायित्वसँग जोड्न सकिने भन्दै गोलेले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताएका छन्।

सम्मान कार्यक्रममा मनहरी गाउँपालिका–२ का वडाध्यक्ष राजकुमार पाख्रिनसहित स्थानीय युवा तथा अन्य व्यक्तिहरूको उपस्थिति थियो।

वडाध्यक्ष पाख्रिनले जन्मदिनको अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने गोलेको पहल सकारात्मक र अनुकरणीय भएको बताए। ज्येष्ठ नागरिक समाजका अनुभव, ज्ञान र संस्कारका महत्वपूर्ण स्रोत भएकाले उनीहरूको सम्मान र संरक्षणमा परिवारसँगै समुदायको पनि भूमिका रहने उनले बताए।

ज्येष्ठ नागरिकलाई सम्मान गर्ने संस्कारले पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उल्लेख गर्दै पाख्रिनले गोलेको पहलबाट अन्य युवाले पनि सामाजिक सेवाका क्षेत्रमा प्रेरणा लिनुपर्नेमा जोड दिए।